सुनसरी :हरिनगरमा तत्काल कुनैपनि राहत वितरण नहुने
२२ चैत्र २०७६, शनिबार १५:२१
जयकृष्ण यादव, सुनसरी : सुनसरीको सीमावर्ती हरिनगर गाउँपालिकाले कुनैपनि राहत वितरण नहुने जनाएको छ । हरिनगर १ रामनगर भुटाहाको बालकृष्ण माध्यमिक विद्यालयमा सर्वदलिय बैठक बसेर हाललाई हरिनगर गाउँपालिकामा कुनै पनि राहत वितरण कार्यक्रम संचालन नगर्ने निर्णय गरेको छ ।
राहत वितरणका लागि लगत संकलन भइनसकेको हुनाले र जनताको स्वास्थ्य स्थिति तथा हुनसक्ने अनावश्यक भिडभाड तथा अन्य समस्या समेत आउन सक्ने भएकाले हाललाई हरिनगर गाउँपालिका भित्र राहत वितरण कार्यक्रम नगर्ने निर्णय गरेको गाउँपालिकाका अध्यक्ष गफार अन्सारीले बताउनुभयो ।
खेतीको सिजन रहेको बेला डिजल वितरणमा टोकन प्रणाली लागुगर्दा अनावश्यक भिडभाड तथा झैझगडाभएको कुरा मध्यनजर गर्दै सर्वदलिय बैठकले आवश्यकता अनुसार किसानले सिधै पेट्रोलपम्पबाट ५ लिटर देखि १० लिटरसम्म डिजल लिन पाउने बैठकले निर्णय गरेको छ ।
त्यसैगरि हरिनगर गाउँपालिकाभित्र मठमन्दिर तथा मस्जिदमा ५ जनाभन्दा बढि उपस्थित नहुनेगरि धार्मिक कार्यमा सहभागी हुन, कुनै धार्मिक सभा तथा धर्मको नाममा अनावश्यक भिडभाड नगरीदिन हुन तथा यो कार्यलाई व्यवस्थित गरिदिन हुन धर्मगुरुलाई सहजिकरण गरिदिन आग्रह सहितको निर्णय गरेको छ ।
त्यसैगरि लकडाउनको समयमा घरबाट अनावश्यक ननिस्कन तथा खाद्यान्न तथा अतिआवश्यक सामग्रीको आवश्यकताभए घरको एकजना सदस्यले गएर लिनहुन तथा अनिवार्य घरभित्रै सो सदस्य क्वरेण्टाइनमा बस्न हुन र लकडाउनको समयमा अतिआवश्यक सवारीसाधनबाहेक अन्य सवारीसाधन नचलाउन वा चलाएको पाइए लकडाउन अवधिभर जफतहुने कुरा समेत निर्णय गरेको छ । लकडाउन अवधिभर सुरक्षित तरिकाले घुम्ती पसल तथा होम डेलिभरी गर्न चाहने व्यवसायीलाई कोटेसन हेरेर अनुमति दिने समेत जनाईएको छ भने खाद्यान्न तथा तरकारीसेवा बिहानैदेखि संचालनमा रहने समेत जनाइएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया