ईलाका प्रहरी कार्यालय छिटाहालाई जग्गादान – Nagarikabhiyan : National News

ईलाका प्रहरी कार्यालय छिटाहालाई जग्गादान

गाउँमा शान्ती सुरक्षा प्रदान गर्ने र नागरिकलाई सुरक्षाको महसुस गराउने प्रहरीलाई आफ्नै भवन र कार्यालयका लागि सुनसरीको गढी गाउँपालिकाका समाजसेवीले जग्गा दान गरेका छन् । सुनसरीको गढी गाउँपलिका वडा नम्बर ३ छिटाहामा रहेको ईलाका प्रहरी कार्यालयलाई गढी ३ का राम कुमार साहु तेली र श्रीराम साहु मिलेर संयुक्त रुपमा दुई कट्ठा जाग्गा दान गरेको स्थानीय निरज कुमार यादवले बताउनुभयो ।
दुई कठ्ठा जग्गा दान गरेकाले ईलाका प्रहरी कार्यालयको ठाउँ साँघुरोबाट फराकिलो हुने भएपछि छिटाहाका स्थानीय दाजुभाईले दुई कठ्ठा जग्गादान गर्नुभएको हो । यस अघि ईलाका प्रहरी कार्यालय छिटाहालाई ४ कठ्ठा जग्गा समाजसेवी रामकिसुन साहले दान गर्नुभएको थियो । हाल थप दुई कट्ठा दान प्राप्त भएकाले सो इलाका प्रहरी कार्यालयको कुल क्षेत्रफल ६ कठ्ठा जग्गा प्रहरी कार्यालयकै नाममा पास भएको छ ।
ईलाका प्रहरी कार्यालयका प्रहरी नायव निरीक्षक बिक्रम बहादुर दाहालले आफनो कार्यकालमा जग्गा पास गराउन पाउँदा खुशी ब्यक्तगर्दै जग्गादाताहरुलाई धन्यवाद समेत दिनुभयो । जग्गा पास भएकोले केही वर्षभित्र नयाँ भवन निर्माणका लागि आफू प्रयत्न गर्ने दाहालको भनाई छ । गढी गाउँपालिका वडा नम्बर ३,४,५,६ सम्मको कार्यक्षेत्र भएको हुदाँ कार्यालयमा दरबन्दी अनुसार कर्मचारी नहुदाँ काम गर्न समस्या भएको उहाँले बताउनुभयो । कार्यक्षेत्र ठूलोे भएको र कर्मचारी कम भएकोले भनेजस्तो शान्ति सुरक्षाको प्रत्याभूती गराउन नसकेको तर्क राख्नुभएको थियो । कर्मचारी अभाबले काम गर्न ठूलो समस्या भएपनि स्थानीयहरुको साथ सहयोग र मायाले गर्दा आफूहरुले जेनतेन काम गरिरहेको दाहालले बताउनुभयो । जग्गा प्रर्याप्त भएको हुदाँ स्थानीय सरकारको पहलमा ईलाका प्रहरी कार्यालय छिटाहाको भवन निर्माण गर्न तर्फ ध्यान दिनुपर्ने स्थानीय दिलिप मेहताको जोड थियो ।