४२ वर्षे लामो शैक्षिक यात्राबाट प्रअ गाया प्रसाद भगतको सुखद बिदाइ
२२ जेष्ठ २०८३, शुक्रबार १८:४५
देवानगञ्ज । सुनसरीको देवानगञ्ज गाउँपालिका–६, राजगञ्ज सिनुवारीस्थित श्री जनता आधारभूत विद्यालयका प्रधानाध्यापक श्री गाया प्रसाद भगत अनिवार्य अवकाश हुनुभएको छ। उहाँको ४२ वर्ष लामो गौरवमय शैक्षिक सेवाकाल पूरा भएको अवसरमा विद्यालय प्राङ्गणमा एक भव्य सम्मान तथा बिदाइ कार्यक्रमको आयोजना गरियो।
उक्त बिदाइ कार्यक्रममा देवानगञ्ज गाउँपालिकाका अध्यक्ष बेचन प्रसाद मेहता, वडा नं. ६ का वडा अध्यक्ष हरिनन्दन मेहता, वडा सदस्य परशुराम यादव, स्थानीय शिक्षाप्रेमी, शिक्षक, विद्यार्थी तथा अभिभावकहरूको उपस्थिति रहेको थियो।
विद्यालयको विकासमा अतुलनीय योगदान
कार्यक्रमका प्रमुख अतिथि एवं देवानगञ्ज गाउँपालिकाका अध्यक्ष बेचन प्रसाद मेहताले प्रअ भगतको योगदानको उच्च प्रशंसा गर्नुभयो। उहाँले भन्नुभयो गाया प्रसाद सरले आफ्नो जीवनको ऊर्जावान् ४२ वर्ष शिक्षा क्षेत्रमा सुम्पेर यो क्षेत्रमा ठुलो गुन लगाउनुभएको छ। विद्यालयको शैक्षिक, प्रशासनिक तथा समग्र विकासमा उहाँले खेल्नुभएको भूमिका अतुलनीय छ। उहाँको अवकाशले विद्यालयलाई एउटा अभिभावकको अभाव महसुस गराउनेछ, तर उहाँको मार्गदर्शन आगामी दिनमा पनि पालिकाको शिक्षा नीति सुधार्न उपयोगी हुनेछ।
त्यस्तै कार्यक्रमकाे सभापति र वडा नं. ६ का वडा अध्यक्ष हरिनन्दन मेहताले प्रअ भगतको निष्ठा र कर्मशीलताको चर्चा गर्दै भन्नुभयो ४२ वर्षसम्म एउटै क्षेत्रमा अटुट रूपमा सेवा गर्नु चानचुने कुरा होइन। उहाँको समर्पणले धेरै विद्यार्थी, शिक्षक र अभिभावकहरूलाई प्रेरणा दिएको छ। वडा र विद्यालयको तर्फबाट म उहाँप्रति हार्दिक कृतज्ञता व्यक्त गर्दछु।
कार्यक्रममा वडा सदस्य परशुराम यादवले पनि प्रअ भगतको सरल व्यक्तित्व र विद्यालय प्रतिको लगावले गर्दा नै आज यस विद्यालयले यो उचाइ लिन सकेको बताउँदै उहाँको योगदान सधैँ स्मरणीय रहने उल्लेख गर्नुभयो।
कार्यक्रममा अवकाशप्राप्त प्रअ भगतलाई भावपूर्ण वातावरणका बीच गाउँपालिका अध्यक्ष, वडा अध्यक्ष लगायतका अतिथिहरूले दोसल्ला ओढाएर तथा कदरपत्र हस्तान्तरण गर्दै सम्मानसहित बिदाइ गर्नुभएको थियो। सो अवसरमा सहभागी शिक्षक तथा विद्यार्थीहरू उहाँको बिदाइमा भावुक बनेका थिए।
बिदाइ कार्यक्रमको समापनमा उपस्थित सम्पूर्ण महानुभावहरूले उहाँको आगामी अवकाशपछिको जीवन सुख, शान्ति, सुस्वास्थ्य, दीर्घायु रहोस् र आगामी दिनमा पनि समाजका लागि उहाँको योगदान निरन्तर रहिरहोस् भन्दै हार्दिक मंगलमय शुभकामना व्यक्त गरेका थिए।

फेसबुकबाट तपाईको प्रतिक्रिया