लगातार चौथो खेल हारेसँगै पाकिस्तानलाई क्लिन स्वीपु को डर
५ माघ २०८०, शुक्रबार १८:१०
न्युजिल्यान्डसँगको चौथो टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा पनि पाकिस्तान पराजित भएको छ । आज क्रिस्टचर्चमा भएको खेलमा न्युजिल्यान्डले पाकिस्तानलाई ७ विकेटले हरायो ।
पाकिस्तानले दिएको १ सय ५९ रनको लक्ष्य न्युजिल्यान्डले १८ ओभर १ बलमा ३ विकेट गुमाएर भेटायो । न्युजिल्यान्डका ड्यारेल मिचेलले ७२ र ग्लेन फिलिप्सले ७० रन बनाए । दुवै खेलाडी नट आउट रहे । मिचेल र फिलिप्सले चौथो विकेटका लागि १ सय ३९ रनको साझेदारी गरे ।
यो न्युजिल्यान्डबाट चौथो विकेटका लागि भएको सबैभन्दा धेरै रनको साझेदारी हो । यसअघि केन विलियमसन र कोरे एन्डरसनले चौथो विकेटका लागि १ सय २४ रनको साझेदारी गरेका थिए । बलिङतर्फ पाकिस्तानका कप्तान शाहीन अफरिदीले ३ विकेट लिए ।
यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको पाकिस्तानले २० ओभरमा ५ विकेट गुमाएर १ सय ५८ रन बनायो । पाकिस्तानका मोहम्मद रिजवानले नट आउट ९० रन बनाए । बलिङतर्फ न्युजिल्यान्डका म्याट हेनरी र लकी फर्गुसनले समान २ विकेट लिए ।
न्युजिल्यान्ड पहिलो खेलमा ४६, दोस्रो खेलमा २१ र तेस्रो खेलमा ४५ रनले विजयी भएको थियो । अब पाँचौँ तथा अन्तिम खेल पर्सि आइतवार हुनेछ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया