न सिंहदरबारबाट ग्यास सिलिण्डर विस्थापित भयो न देशव्यापी बन्यो विद्युतीय चुल्हो
३ माघ २०८०, बुधबार १०:२८
सिंहदरबार परिसरबाट आगामी साउनभित्र ग्यास सिलिण्डर विस्थापित गरी विद्युतीय चुल्हो उपयोग गर्नुपर्ने व्यवस्था मिलाएको छु,’ आर्थिक वर्ष २०७९र८० को बजेट वक्तव्य प्रस्तुत गर्दै तत्कालीन अर्थमन्त्री जनार्थन शर्माले सुनाएका थिए।
यदि शर्माको घोषणा पूरा हुन्थ्यो भने सोही वर्षको साउनभित्र सिंहदरबार परिसरमा ग्यास सिलिण्डर विस्थापित हुने थियो, र विद्युतीय चुल्हो उपयोगमा आइसक्ने थियो। त्यतिमात्र हैन, बजेट भाषणमा त ३ महिनाभित्र महानगर र उपमहानगरपालिका भित्रका सबै सार्वजनिक कार्यालय र निवासलाई पनि ग्यास सिलिण्डर मुक्त गराइ क्रमशः विद्युतीय चुल्हो प्रयोग देशव्यापी बनाउने प्रतिबद्धता थियो।
तर, डेढ वर्ष बित्यो न त सिंहदरबारबाट ग्यास सिलिण्डर विस्थापित भयो, न देशव्यापी रुपमा विद्युतीय चुल्हो उपयोग नै भयो। अर्थमन्त्री फेरिए, सरकारको नेतृत्व फेरियो। तर ग्यासको ठाउँमा विद्युतीय चुल्हो फेरिएन। यो घोषण केवल बजेट भाषणमा सीमित भयो।
अहिलेसम्म पनि सिंहदरबारमा रहेका हरेक क्यान्टिनमा ग्यास चुल्होको प्रयोग गरी खाना तथा खाजा पकाइरहेको पाइएको छ।
सिंहदरबारभित्रै ग्यास चुल्होको उपयोग हटेको छैन। गाउँपालिका, नगरपालिका लगायतका कार्यालयमा हट्ने सम्भावना न्यून नै रहन्छ। सिंहदरबारभित्र ग्यास चुल्हो नहट्नु तथा विद्युतीय चुल्हो प्रयोगमा नआउनुको कारणबारे आफू जानकार नरहेको अर्थ मन्त्रालयका प्रवक्ता धनीराम शर्मा बताउँछन्।
अघिल्लो वर्षको बजेटको कुरा हो। यसबारे त मलाई कुनै जानकारी छैन। कसले विद्युतीय चुल्हो प्रयोग गरिरहेको छ, कसले गरेको छैन। यसबारे त आफैं क्यान्टिनहरुतिर बुझ्नुस् न बजेटको व्यवस्था कार्यान्वयन भएरनभएको विषयमा समीक्षा गर्नुपर्ने मन्त्रालयका प्रवक्ता शर्माले गैरजिम्मेवार हुँदै भने।
अर्थ मन्त्रालयको क्यान्टिनमासमेत ग्यास चुल्होको प्रयोग गरिरहेको पाइएको छ। अर्थ मन्त्रालयको क्यान्टिनका सञ्चालक मानप्रसाद भट्टले सरकारले ग्यास चुल्हो विस्थापित गर्ने घोषणा गरेको केही समयपछि विद्युतीय चुल्हो उपयोग गरेको, तर आफूहरुले प्रयोगमा ल्याएपछि विविध समस्याका कारण इन्डक्सन विद्युतीय चुल्हो उपयोग गर्न नसकेको बताउँछन्।
ग्यास चुल्हो विस्थापित गर्ने सरकारको निर्देशनअनुसार हामीले इन्डक्सन चुल्हो लगायत भान्सामा आवश्यक पर्ने अन्य विद्युतीय उपकरणहरु किन्यौं। घोषणा भएको वर्षको साउनदेखि गत असोजसम्म प्रयोग गरेका थियौं। तर यहाँको विद्युतीय जडान पुरानो सिस्टममा आधारित भएका कारण आगजनी हुनसक्ने समस्या नै देखिन थाल्यो त्यसपछि विद्युतीय चुल्हो छोडेको हो भट्टले भने।
विद्युतीय चुल्हो प्रयोग गरी खाना तथा खाजा पकाउँदा ग्यासको तुलनामा खर्च कम लाग्ने भनिए पनि पटक–पटक विद्युतीय चुल्हो बिग्रिने र अर्को किन्नुपर्दा थप खर्च बढेको उनको भनाइ छ।
विद्यतीय चुल्हो छाडेर ग्यास चुल्लो प्रयोग गर्न कसैले निर्देश नगरेको र आफूहरुले ग्यास प्रयोग गरेकोबारे सम्बन्धित निकायलाई जानकारी नगराएको उनी बताउँछन्। यस्तै ग्यास चुल्हो प्रयोग गर्दा कुनै निकाय अनुगमन गर्नसमेत नआएको उनको भनाइ छ।
हामीलाई कसैले ग्यास चुल्हो प्रयोग गर्नु भनेको होइन। विद्युतीय चुल्हो प्रयोग गर्दा तार जलेर आगलागी हुने बारम्बार चुल्हो बिग्रिरहने साथै ग्राहकको समयअनुसार खाना तथा खाजा दिननसक्ने जस्ता विभिन्न समस्या आएका कारण आफैं प्रयोग गरेका हौं उनले भने।
ग्यासबाट छोटो समयमा खानेकुरा पाक्ने, तर विद्युतीय चुल्होको प्रयोग गर्दा घन्टौंसम्म ग्राहकले कुर्नुपर्ने हुँदा व्यापारमा समेत समस्या आएको उनले सुनाए।

फेसबुकबाट तपाईको प्रतिक्रिया