राष्ट्रपति रनिङ शिल्डस ग्रामीण क्षेत्रमा बढायो खेलकुद क्रेज – Nagarikabhiyan : National News

राष्ट्रपति रनिङ शिल्डस ग्रामीण क्षेत्रमा बढायो खेलकुद क्रेज

जिल्ला सदरमुकाममा हुँदै आएको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगित ग्रामीण क्षेत्रमा आयोजना गर्न थालिएपछि गाउँ–गाउँमा खेलकुदको ‘क्रेज’ बढेको छ। सदरमुकाम केन्द्रित हुँदै आएको रनिङ शिल्ड जिल्ला खेलकुद विकास समितिको पहलमा गत वर्षदेखि ग्रामीण क्षेत्रमा आयोजना गर्न थालिएको हो।

यतिबेला पालिकाको विद्यालयस्तरीय राष्ट्रपति रनिङ शिल्डको छनोट चरणका प्रतिस्पर्धा केही पालिकामा सम्पन्न भएको छ भने केहीमा हुने तयारी छ। यहाँको १० पालिकामध्ये माई र देउमाई नगरपालिका सहित रोङ र माईजोगमाई गाउँपालिकामा विद्यालयस्तरीय प्रतियोगिता सम्पन्न भइसकेको छ। माङसेबुङ गाउँपालिकामा प्रतियोगिता भइरहेको जिल्ला खेलकुद विकास समितिका अध्यक्ष खगेन्द्र बाँस्तोलाले जानकारी दिए।

सबै पालिकाले खेलकुदमा बजेटको व्यवस्था गरी पालिकास्तरीय प्रतियोगिता आयोजनासँगै विद्यालयस्तरीय राष्ट्रपति रनिङ शिल्डको तयारी थालेका छन्। रनिङ शिल्ड उपाधि चुम्नका लागि वर्षैभरि खेलकुदका विभिन्न प्रतियोगिता पालिकास्तरमा गर्न थालिएको उनले बताए। उनले १४औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता माङसेबुङमा आगामी फागुनको पहिलो साता आयोजना हुने जानकारी दिए।

ग्रामीण खेलकुदको विकास गर्ने उद्देश्यले गत वर्ष १३औँ राष्ट्रपति रनिङ शिल्ड फाकफोकथुम गाउँपालिकामा आयोजना गरिएको थियो। उक्त प्रतियोगिताको समापनको अवसरमा यस वर्षको रनिङ शिल्ड आयोजना गर्न अग्रसर माङसेबुङलाई झण्डा हस्तान्तरण गरिएको थियो। यसपटक पनि आगाामी वर्षको रनिङ शिल्ड आफ्नो पालिकामा गराउन माई नगरपालिका, रोङ र चुलाचुली गाउँपालिकाबीच प्रतिष्पर्धा चलिरहेको अध्यक्ष बाँस्तोलाले बताए। ‘उहाँहरू आ–आफ्नो पालिकामा गर्न उत्साहित हुनुहुन्छ’, उनले भने।

गाम्रीण क्षेत्रमा रनिङ शिल्ड आयोजना गर्दा रु २० देखि २५ लाख खर्च लाग्ने खेलकुद विकास समितिले जनाएको छ। आयोजक पालिकाले अलि बढी आर्थिक दायित्व लिने गरेको छ भने जिल्लाका अन्य सबै पालिकाले प्रतियोगिता सम्पन्न गर्नका लागि आर्थिक सहयोग गर्ने गरेका छन्। अध्यक्ष बाँस्तोलाले भने, ‘टालटुले रूपमा हुने प्रतियोगितालाई हामीले ग्रामीण क्षेत्रमा लगेपछि ग्रामीण खेल पर्यटनको समेत विकास भएको छ।’

माई नगरपालिकाले चालु आर्थिक बर्षमा २२ लाख रुपियाँ बजेट बिनियोजन गरेको छ। पालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता गर्दा नगरपालिकाले प्रत्येक बिद्यालयलाई १० हजार रुपियाँ खर्च र खाजा खर्च उपलब्ध गराएको नगर प्रमुख खम्बा सिं लिम्बुले जानकारी दिए। उनले भने, ‘राष्ट्रपति रनिङ शिल्ड ग्रामीण क्षेत्रमा हुन थालेपछि सबैले अवसर पाएका छन, यो राम्रो हो।’ उनले सरकार परिवर्तन संगै जिल्लाको खेलकुद नेतृत्व परिवर्तन हुँने क्रमले खेल क्षेत्र ओझेल परेको समेत गुनासो गरे। नगर प्रमुख लिम्बुका अनुसार माई नगरपालिकाले राष्ट्रपति रनिङ शिल्डको छनौट चरणमा ६ लाख रुपियाँ खर्च गरेको छ भने राष्ट्रपति रनिङ शिल्डको जिल्ला स्तरीय खेलमा थप ६ लाख बढी खर्च हुने छ।

जिल्ला खेलकुद बिकास समित इलामका कार्यालय प्रमुख नारायण भट्टराईले राष्ट्रको खेलकुदको भविष्य तथा विद्यालय खेलकुदलाई एउटा औपचारिकतामा मात्र सीमित नगरी उत्सवको रूपमा प्रतियोगिता आयोजना गरी खेलाडी र खेल क्षेत्रकै हौसला बढाउन माई नगरपालिकाले उल्लेखीय भुमीका खेलेको बताए।

माईजोगमाई गाउँपालिकाले खेलकुद विकासका लागि अध्यक्ष कप शीर्षकमा चालु आवमा रु १५ लाख विनियोजन गरेको छ। गाउँपालिका उपाध्यक्ष प्रविना राईले वडाले माग गरेअनुसार थप रकम उपलब्ध गराइने जानकारी दिए। सूर्योदय नगरपालिकाले चालु आवमा युवा तथा खेलकुद कार्यक्रम शीर्षकमा रु ८५ लाख विनियोजन गरेको शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख योगनिधि भट्टराईले जानकारी दिए। नगरको आन्तरिक उक्त स्रोतबाहेक प्रत्येक वडाले रकम खेलकुद क्षेत्रमा विनियोजन गरेको जानकारी दिए।