यू(१९ विश्वकप आईसीसीको प्लेयर्स टू वाच सूचीमा नेपालका चार खेलाडी
२९ पुष २०८०, आईतवार १३:५९
आईसीसीले यू–१९ विश्वकपमा नेपालका चार खेलाडीलाई ‘प्लेयर्स टू वाच’ को सूचीमा राखेको छ । आईसीसीले नेपालका कप्तान देव खनाल, गुलशन झा, अर्जुन कुमाल र दुर्गेश गुप्तालाई यस विश्वकपमा ‘प्लेयर्स टू वाच’ को सूचीमा राखेको हो । कप्तान देव र गुलशनले यसअघि नेपाली सिनियर टिममा समेत खेलिसकेका छन् भने अर्जुन र दुर्गेशले यू–१९ तहमा शानदार प्रदर्शन गर्दै आएका छन् ।
विश्वकपअघि नेपालले शनिबार खेलेको वार्मअप खेलमा स्कटल्याण्डलाई पराजित गरेको थियो । वर्षाले प्रभावित खेलमा स्कटल्याण्डलाई नेपालले डिएल मेथड अनुसार ७ विकेटले पराजित गरेको थियो । नेपालले त्यसअघि खेलेका दुई अनौपचारिक वार्म अप खेलमा स्कटल्याण्ड र नामिबियालाई पराजित गरेको थियो । नेपालले अब दोस्रो वार्मअप खेल मंगलबार वेस्ट इन्डिजसँग खेल्दै छ । जनवरी १९ देखि सुरु हुने यस विश्वकपमा नेपाल समूह डी मा रहेको छ । यस समूहमा नेपालसँगै पाकिस्तान, अफगानिस्तान र न्युजिल्यान्ड रहेका छन् ।
नेपालले विश्वकपमा पहिलो खेल जनवरी २१ मा न्युजिल्यान्डसँग खेल्नेछ । यस्तै जनवरी २४ मा पाकिस्तानसँग र जनवरी २६ मा अफगानिस्तानसँग खेल्ने छ । विश्वकप खेल्ने नेपाली टिम– देव खनाल कप्तान अर्जुन कुमाल आकाश त्रिपाठी दिपकप्रसाद डुम्रे दुर्गेश गुप्ता गुलशनकुमार झा दिपेशप्रसाद कँडेल विशालविक्रम केसी सुभाष भण्डारी, दीपक बोहरा ए दिपक बोहरा बी उत्तम थापा मगर विपिन रावल तिलकराज भण्डारी र आकाश चन्द ।

फेसबुकबाट तपाईको प्रतिक्रिया