घरमा प्रहरी पसेपछि दुई तलाबाट हामफालेर भाग्न खोजेका थिए बमजन – Nagarikabhiyan : National News

घरमा प्रहरी पसेपछि दुई तलाबाट हामफालेर भाग्न खोजेका थिए बमजन

तपश्वीको भेषमा अनुयायीलाई बेपत्ता पारेको अभियोग लागेका रामबहादुर बमजनलाई पक्राउ गर्न प्रहरीको टोली पुग्दा उनी भाग्न खोजेको खुलेको छ। सीआईबीले बमजनलाई पक्राउ गर्न एकजना डीएसपीको कमान्डमा टोली परिचालन गरेको थियो ।बमजनलाई सिआइबीका डिएसपी धर्मराज भण्डारीको नेतृत्वको टोलीले निरन्तर पछ्याइरहेको थियो । प्रहरीले पछ्याइरहेको शंका पाएपछि बमजन हात्तीगौँडास्थित घरबाट भाग्न तयारी अवस्थामा थिए । भाग्ने तयारी अवस्थामा रहेका उनी हात्तीगौंडास्थित घरमा विगत ८ दिनदेखि बाहिर कतै ननिस्की बसेका थिए ।

मंगलबार साँझ प्रहरीको टोली बमजनलाई पक्राउ गर्न उनको घरभित्रै छिरेको थियो । उनी उक्त घरमा आफ्नी श्रीमती र छोराछोरीसँग बस्दै आएका थिए। उनकी श्रीमती लगायतले पनि प्रहरीलाई रोक्न कोसिस गरे। बमजन घरको दोस्रो तलामाथि बसिरहेका थिए। प्रहरी आएको थाहा पाएपछि बमजनले बरण्डाबाट हामफाले । उनी भाग्न लागेपछि प्रहरीले उनलाई बाहिरै पक्राउ गरेको छ। उनी भाग्न सक्ने अनुमानसहित थप तीनवटा टोली बाहिर परिचालन गरिएको थियो ।

लगातार १८ दिनदेखि पछि लागेर सीआईबीको टोलीले उनलाई पक्राउ गरेको हो । कम्तिमा दुई महिनादेखि काठमाडौंमा बसिरहेको खुलेको छ । मंगलबार साँझ बूढानीलकण्ठबाट पक्राउ परेपछि उनले प्रहरीसँग दुई महिनादेखि त्यहाँ बस्दै आएको बताएका छन् ।बमजनको श्रीमतीलाई प्रहरीले ट्रयाक गरिरहेको थियो । एक महिनाअघि उनको बच्चा जन्मिएको थाहा पाएपछि खोजीलाई तीब्र पारिएको थियो । त्यही आधारमा खटिएको प्रहरी टोलीले उनलाई घरबाट पक्राउ गरेको हो ।

पक्राउ परेपछि गरिएको प्रारम्भिक सोधपुछमा उनले आफू कहिले सिन्धुली त कहिले मकवानपुरको जंगलमा बस्दै आएको बताएका छन् । बमजनमाथि यौन शोषण, बलात्कार र आनीहरूलाई बेपत्ता बनाएको आरोप लागेको थियो । उनीविरूद्ध पाँच परिवारले उजुरी दिएका थिए । आफ्नो आश्रममा बस्दै आएका तीन जना युवती र दुई युवालाई बेपत्ता पारेको उजुरी विभिन्न प्रहरी कार्यालयमा दर्ता भएको थियो । तीमध्ये एक जनालाई उनले सिन्धुपाल्चोकस्थित आश्रममा हत्या गरी शवसम्म बेपत्ता पारेको थिए ।