मधेशमा एमालेबाट अन्यतर्फ झा र महिलातर्फ थरुनी
२३ पुष २०८०, सोमबार १५:३७
मधेश प्रदेशमा नेकपा एमालेबाट राष्ट्रियसभा सदस्यका लागि अन्यतर्फ कुमारी विजेता झा र महिलातर्फ उशादेवी थरुनीले उम्मेदवारी दर्ता गराएका छन्।
सोमबार जनकपुरधाम स्थित निर्वाचन आयोगको मधेश प्रदेश कार्यालयमा पुगेर दुवै जनाले उम्मेदवारी दर्ता गराएका हुन्।
यसअघि अन्यतर्फ अर्जुन सिंहको नाम रहे पनि उनको नाम मतदाता नामावलीमा नभेटिएपछि निर्वाचन कार्यालयबाट फर्केका थिए।
उम्मेदवारी दर्ता गराएकी झा धनुषाकी हुन् भने थरुनी पर्साकी हुन्।
यस निर्वाचनमा प्रदेशसभा सदस्य १ सय ७ र गाउँपालिका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिका प्रमुख र उपप्रमुख मतदाता २ सय ६७ जना रहेको प्रदेश निर्वाचन कार्यालय मधेश प्रदेशका निमित्त प्रमुख नवीन चौधरीले बताए।

फेसबुकबाट तपाईको प्रतिक्रिया