कालिका सहकारीका संस्थापक अध्यक्ष मृगेन्द्र घिमिरे पक्राउ
२२ पुष २०८०, आईतवार २०:२५
बेंसीसहरको कालिका सहकारीका संस्थापक अध्यक्ष मृगेन्द्र घिमिरेलाई प्रहरीले पक्राउ गरेको छ । सो सहकारीमा भएको ठगी प्रकरणमा मुख्य दोषी भनिएका घिमिरेलाई आइतबार दिउँसो काठमाडौंको धापासीमा लुकिछिपी बसेको अवस्थामा प्रहरीले पक्राउ गरेको हो ।
स्थापना कालको कालिका बचत तथा ऋण सहकारी संस्थाको अध्यक्ष रहेका घिमिरेविरुद्ध जिल्ला अदालतमा सहकारी कसुर ऐन र ठगी गरी २ वटा मुद्दा चलिरहेका छन् । घिमिरेपत्नी विनिता अधिकारी घिमिरे भने अझै फरार छिन् । उनी कालिका सहकारीका संस्थापक प्रबन्धक र एकीकरणपछिको कोषाध्यक्ष समेत हुन् ।
जिल्ला प्रहरी कार्यालय लमजुङका प्रहरी निरीक्षक मेघनाथ चापागाईंले काठमाडौमा पक्राउ परेका घिमिरेलाई सोमबारसम्म लमजुङ ल्याइपुर्याउने बताए । ‘हामी यसको जानकारी भोलि सोमबार दिन्छौं उनले भने ।
सहकारी ऐन कसुर अन्तर्गतको मुद्दामा जिल्ला प्रहरी कार्यालयले सहकारीसम्बद्ध सुरुमा ८ जनाविरुद्ध पक्राउ पुर्जी जारी गरेकोमा ६ जनालाई मंसिर १० गते पक्राउ गरेको थियो । त्यति बेलादेखि घिमिरे दम्पत्ति फरार थिए ।
जिल्लामा नेता तथा प्रहरीले नै भगाएको समेत चर्चा चलेको थियो । पछि २६ जनाविरुद्ध पक्राउ पुर्जी जारी भएकोमा १ जनालाई मंसिर १७ गते पक्राउ गरिएको थियो । पक्राउ गरिएका ७ जनालाई अदालतले जनही ७ लाखदेखि १२ लाख रुपैयाँ धरौटी रकम लिएर पुस ५ गते तारेखमा छोडेको छ ।
सहकारी रजिष्ट्रारको कार्यालय गण्डकी प्रदेशको छानविनमा मुख्य दोषी देखाइएकाहरुलाई पक्राउ नगरी सामान्य नसियत दिइएका र प्रतिवेदनमा नामै उल्लेख नभएकाहरुलाई समेत पक्राउ गरी मुद्दा चलाएको भन्दै प्रहरीको आलोचनासमेत भएको थियो ।
प्रहरीमा उजुरी परेकामध्ये पहिलो चरणका १ जना र दोस्रो चरणका २५ जना गरी २६ जनालाई पक्राउ गरिएको छैन । मुद्दा चलिरहेका २७ जनाविरुद्ध अदालतले बुधबार १ साताको पक्राउ पुर्जी जारी गरेको थियो । आइतबार १ जना पक्राउ परेपछि २५ जना फरार सूचीमा छन् ।
घिमिरे दम्पत्तीले विगतमा संस्थामा अनियमितता गरी बचतकर्ताहरुको बचतलाई हिनामिना गरेको पाइएपछि एकीकृतपछि बनेको कालिका सहकारी संस्थाको वर्तमान सञ्चालक समितिले संस्थाको वित्तीय अवस्थाबारे विश्लेषण गरिदिन सहकारी रजिष्ट्रारको कार्यालयलार्ई आग्रह गरेको थियो ।
समितिको आग्रह बमोजिम रजिष्ट्रारको कार्यालयले सहकारीको आर्थिक गतिविधिबारे विज्ञमार्फत छानविन गराएको थियो । बागलुङको ईमेज सहकारीको समेत छानविन गरेका विज्ञ निर्मल गौतमले कालिका सहकारीको समेत छानविन गरी राय सहितको प्रतिवेदन रजिष्ट्रारको कार्यालयमा बुझाएका थिए ।
गौतमको छानविनमा मृगेद्र घिमिरेसहित उनकी श्रीमती विनिता घिमिरेले सहकारी ऐनको गम्भीर उल्लंघन गरी बचतकर्ताहरुको बचतको हिनामिना गरेको र मुलुकी फौज्दारी संहिता आकर्षित हुने गरी काम गरेको भेटिएपछि सहकारी रजिष्ट्रारको कार्यालयले उनीहरुलाई कारबाही गर्न नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो ९सीआइबी०लाई छानविन प्रतिवेदनसहित पत्राचार गरेको थियो ।
सीआईबीले उक्त सहकारीका बारेमा अनुसन्धान गर्न जिल्ला प्रहरी कार्यालयलाई छानविन प्रतिवेदनसमेत पठाएपछि जिल्ला प्रहरी कार्यालयले अनुसन्धान गरेको हो ।
प्रहरीले निर्मल गौतमकै प्रतिवेदनलाई आधारित भएर मुद्दा तयार गरेर अनुसन्धान गर्दै मिसिल बुझाएकोमा जिल्ला न्यायाधिवक्ताको कार्यालयले समेत गौतमकै प्रतिवेदनका आधारमा अदालतमा मुद्दा दायर गरेको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया