आज तमु ल्होसार मनाइँदै देशैभर सार्वजनिक बिदा
१५ पुष २०८०, आईतवार ०९:२१
गुरुङ समुदायले तमु ल्होसार पर्व मनाउँदैछन् । पुरानो वर्षलाई बिदाइ गरी नयाँ वर्षलाई स्वागत गर्न तमु ल्होसार मनाउने चलन रहेको छ ।
ल्हो को अर्थ वर्ष र सार को अर्थ फेरिनुभएकाले वर्ष फेरिने दिनलाई तमु ल्होसार भनिएको हो । तमु ल्होसारलाई गुरुङ समुदायले नयाँ वर्षका रुपमा भव्यरुपमा मनाउँछन् ।
तमु ल्होसार पर्व सूर्यको किरणसँग सम्बन्धित छ । गुरुङ बाहुल्य रहेको लमजुङ गोरखा तनहुँ स्याङ्जा मनाङ कास्की पर्वत लगायत जिल्लामा सूर्यको ताप पहिले आउने भएकाले पुस १५ मा यो पर्व मनाउने गरिएको हो ।
यसपछि क्रमशः तामाङ र शेर्पा जातिको बसोबास भएको क्षेत्रमा सूर्यको ताप आउने भएकाले माघ र फागुनमा यो पर्व मनाइने विश्वास गरिन्छ ।
पुस १५ गतेको रात सबैभन्दा लामो हुने र यसपछिका रात घट्दै जाने भएकाले पनि यस पर्वको महत्व रहेको बताइन्छ ।
पर्वका अवसरमा आज सरकारले देशभर सार्वजनिक बिदा दिएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया