प्रधानमन्त्रीलाई भेटेर मुख्यमन्त्रीले मागे अधिकार सङ्घीय ऐनलाई टुङ्गोमा पुर्‍याउने प्रधानमन्त्रीको भनाई – Nagarikabhiyan : National News

प्रधानमन्त्रीलाई भेटेर मुख्यमन्त्रीले मागे अधिकार सङ्घीय ऐनलाई टुङ्गोमा पुर्‍याउने प्रधानमन्त्रीको भनाई

संघीयता कार्यान्वयन गराउन मुख्यमन्त्रीहरूले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको ध्यानाकर्षण गराएका छन् ।
शुक्रबार हेटौंडामा बसेको बैठकले गरेको निर्णय अनुसार मुख्यमन्त्रीहरुले शनिबार बिहान बालुवाटारमा प्रधानमन्त्री प्रचण्डलाई भेटेर ध्यानाकर्षण गराएका हुन् ।

संघीयताको प्रावधानअनुरूप केन्द्र सरकारले प्रदेश सरकारलाई अधिकार हस्तान्तरण नगरेको भन्दै एकताबद्ध भएका सातै प्रदेशका मुख्यमन्त्रीले शुक्रबार हेटौँडामा भेला भई छलफल गरेका थिए।
त्यसपछि आज बिहान प्रधानमन्त्री निवास बालुवाटार पुगेर उनीहरूले यस विषयमा प्रधानमन्त्रीको प्रचण्डलाई पत्र दिँदै ध्यानाकर्षणपत्र बुझाएका हुन् ।

त्यसक्रममा प्रधानमन्त्री प्रचण्डले सङ्घीयताको प्रभावकारी कार्यान्वयनका लागि अत्यावश्यक सङ्घीय कानुन निर्माणका निम्ति आफू गम्भीररूपमा लागिपरेको बताएका छन् ।
उनले सङ्घीयताको परिकल्पनाकार र संविधान निर्माणको समेत अगुवा हुनुको नाताले आफ्नो ध्यान सङ्घीयताको कार्यान्वयनमा केन्द्रित भएको बताए ।

उनले भने तपाईँहरू सबै जानकार नै हुनुहुन्छ मैले नै सङ्घीय गणतन्त्रको परिकल्पना गरी त्यसका निम्ति सङ्घर्ष गरेको थिएँ, त्यसलाई संविधानमा लिपिबद्ध गर्नसमेत भूमिका खेलेको छु, नेतृत्व लिएको छु, त्यसैले सङ्घीयता कार्यान्वयन मेरो सबैभन्दा ठुलो चासो र प्राथमिकताको विषय हो ।
उनले सङ्घीय संसद्मा सहभागी सबै दललाई पनि सहमत गराएर सङ्घीयतालाई कार्यान्वयन गर्न खोज्दा केही समय लागेको बताएका छन् ।