श्रम र रोजगारीको क्षेत्रमा सरकारको एक वर्ष र प्रधानमन्त्रीको नयाँ घोषणा – Nagarikabhiyan : National News

श्रम र रोजगारीको क्षेत्रमा सरकारको एक वर्ष र प्रधानमन्त्रीको नयाँ घोषणा

काठमाण्डाै –प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विदेशमा रहेका नेपालीले मतदान गर्न पाउने व्यवस्था मिलाउने घोषणा गर्नुभएको छ ।
आफ्नो नेतृत्वमा सरकार गठन भएको एक वर्ष पूरा भएको अवसरमा मङ्गलवार राष्ट्रको नाममा सम्बोधन गर्ने क्रममा उहाँले यस्तो घोषणा गर्नुभएको हो ।

यस्तै, उहाँले माघ मसान्तभित्र सबै जिल्ला प्रशासन कार्यालयमा थप जनशक्तिको व्यवस्था गरी राष्ट्रिय परिचयपत्र र राहदानी प्राप्त गर्ने समयावधि छोट्याइने पनि बताउनुभएको छ । प्रधानमन्त्रीको नयाँ घोषणामा अनलाइनबाटै राहदानी वितरण गर्ने र वैदेशिक रोजगारीको प्रक्रियालाई पूर्ण अनलाइन गरी बैंकिङ प्रणालीसँग जोड्ने उल्लेख छ ।

यस्तै, प्रधानमन्त्रीले चैतभित्र सबै सरकारी कार्यालय, संस्थान र प्रतिष्ठानमा कार्यरत करार र ज्यालादारी कर्मचारीलाई सामाजिक सुरक्षाकोषमा आबद्ध गरिसक्ने दाबी गर्नुभएको छ । रेमिट्यान्सँगै भित्रिने सीप, अनुभव र दक्षताको उपयोग गरी देशभित्र उत्पादन र रोजगारी बढाउनेतर्फ केन्द्रित हुने प्रधानमन्त्रीको भनाइ छ । वैदेशिक रोजगारीको क्षेत्रमा धेरै सुधारका काम गरेको दाबी गर्दै उहाँले अबको ध्यान यसतर्फ केन्द्रित हुने पनि बताउनुभएको छ ।

श्रम स्वीकृति र पुनःश्रम स्वीकृति कार्यलाई पूर्णरूपमा अनलाइन गरिएको, २ वर्षे सीमालाई परिमार्जन गरी करार अवधि बमोजिम नै श्रम स्वीकृति दिने व्यवस्था भएको, विदेशमा रहेका नियोगबाटै पुनःश्रम स्वीकृति प्रदान गर्ने व्यवस्थादेखि टेलिमेडिसिन सेवासम्म उपलब्ध गराएको, वैदेशिक रोजगारीका क्रममा हुने ठगी नियन्त्रण एवम् राहत तथा उद्धार कार्यलाई प्रभावकारी बनाउन मार्सल टिम, शीघ्र प्रत्युत्तर टोली, चौबीसै घण्टा गुनासो सुन्नेगरी श्रम कल सेन्टर सञ्चालनमा ल्याएर यस क्षेत्रको केही सुधार गरेको प्रधानमन्त्रीको दाबी छ ।

प्रधानमन्त्रीको सम्बोधनमा उल्लेख भएका श्रम र रोजगारी क्षेत्रमा भएका काम यस्ता छन् स्

श्रम अदालत नियमावली, २०८०स श्रम पहिलो संशोधन नियमावली, २०८०स श्रम, रोजगार तथा सामाजिक मन्त्रालयको पाँच वर्षे, रणनीतिक योजना तथा एकीकृत श्रम र रोजगार सेवा सञ्‍चालन र व्यवस्थापन कार्यविधि, २०८० र राष्ट्रिय व्यावसायिक प्रशिक्षण प्रतिष्ठान विकास समिति गठन आदेश, २०८० स्वीकृत गरी लागू गरिएको।

विदेशी श्रमिकहरूलाई श्रम इजाजत दिने कार्यलाई पूर्ण रूपमा अनलाइन प्रणालीमा आधारित बनाइएको।

वैदेशिक रोजगारीमा जाने नेपालीहरूलाई दिइने श्रम स्वीकृति, पुनस् श्रम स्वीकृति सेवा र वैदेशिक रोजगार बोर्डबाट प्रदान गरिने सेवाहरू पूर्णरूपमा अनलाइन प्रणालीबाट दिने कार्यलाई प्रभावकारी बनाइएको।
वैदेशिक रोजगारीमा जाने नेपाली श्रमिकलाई दिइँदै आएको २ वर्षे श्रम स्वीकृतिको सीमालाई परिमार्जन गरी करार अवधि बमोजिम नै श्रम स्वीकृति दिने व्यवस्था गरिएको। पुनःश्रम स्वीकृति लिन नेपाल आउनुपर्ने बाध्यात्मक अवस्थाको अन्त्य गर्न विदेशस्थित नियोगबाटै पुनःश्रम स्वीकृति प्रदान गर्ने व्यवस्था गरिएको।