हात्ती देखाएर पर्यटकसँग नोट लिनु पर्छ मुख्यमन्त्री -केदार कार्की
८ पुष २०८०, आईतवार १९:५१
कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले समस्याको रुपमा रहेको हात्तीलाई मनोरन्जनको रुपमा रुपान्तरण गरेर मनग्ये आम्दानी गर्न सकिने बताएका छन् ।
हात्ती प्रभावित बाहुनडाँगी क्षेत्रको स्थलगत भ्रमणपछि आइतबार मुख्यमन्त्री कार्कीले हात्तीलाई समस्याको रुपमा मात्रै नलिएर आर्थिक आम्दानीको दरिलो स्रोतको रुपमा पनि लिन सकिने बताए । विगतमा हात्ती देखाएर जनतासँग भोट लिइयो होला’, मुख्यमन्त्री कार्कीले भने अब हात्ती देखाएर पर्यटकसँग नोट लिनु पर्छ ।
मुख्यमन्त्रीले वर्षौंदेखि जारी मानव–हात्ती द्वन्द्व न्यूनीकरणका लागि सरकारी र गैरसकारी रुपमा भएका प्रयत्नबारे पनि जानकारी लिएका थिए । उनले मेचीबगरमा लगाइएको विद्युतीय अफसेट फेन्सिङको पनि अवलोकन गरे ।
मानव बस्ती विकाससँगै हात्तीको कोरिडोर पनि मासिँदै गएको प्रति चिन्ता व्यक्त गर्दै मुख्यमन्त्री कार्कीले बाहुनडाँगीदेखि उदयपुरसम्म पुनः कोरिडोर निर्माण गर्न सकिने बताए । उनले बाहुनडाँगीदेखि जोगीदहसँग हात्तीको बाटो पहिल्याउँदै यात्रा गर्ने प्रदेश सरकारले योजना बनाइरहेको सुनाए ।
उनले हात्ती हिँड्ने बाटोमा बसेका बस्तीहरुलाई उचित मुआब्जासहित स्थानान्तरणका लागि सरकारले पहल गर्नु पर्ने बताउँदै भने,‘जंगलको मानव बस्ती अन्तै सारेर सरकारले घर बनाइदिने प्रस्ताव ल्याउन सक्दा मान्छे र हात्ती दुवैको सहअस्तित्व कायम हुन सक्ने छ ।’
हात्ती संरक्षणसँगै बालीनाली, घरसहित मान्छेको जीवन बीमाका लागि प्रदेश सरकारले काम अघि बढाइसकेको उनले जनाए । ‘ज्यान जोगाउनुस्, बालीनाली सरकारले जोगाइदिन्छ’, कार्कीले थपे ।

फेसबुकबाट तपाईको प्रतिक्रिया