समयमा विद्युत् महसुल नतिर्ने विराटनगरका एक हजार ६ सय ३२ ग्राहकको लाइन काटियो
८ पुष २०८०, आईतवार १९:४४
नेपाल विद्युत् प्राधिकरणको विराटनगर वितरण केन्द्रले समयमा विद्युत् महसुल नतिर्ने विराटनगरका एक हजार ६ सय ३२ ग्राहकको लाइन काटेको छ ।
प्राधिकरणको देशव्यापी बक्यौता असुली अभियानअन्तर्गत साउन महिनायता विराटनगरमा उक्त सङ्ख्याका ग्राहकको लाइन काटिएको हो ।
लाइन काटेर चालु आर्थिक वर्ष २०८०र८१ को पाँच महिनामा रु २ करोड ७६ लाख ८१ हजार ८ सय ५३ रुपैयाँ २१ पैसा बक्यौता असुल गरिएको नेपाल विद्युत् प्राधिकरणको विराटनगर वितरण केन्द्रले जनाएको छ।
लाइन काटिएका एक हजार ६ सय ३२ जना ग्राहकबाट रु ३ करोड ९६ लाख ९१ हजार ५ सय ७२ रुपैयाँ ४५ पैसा महसुल बक्यौता उठाउनुपर्ने थियो।
लाइन काटेपछि रु २ करोड ७६ लाख ८१ हजार ८ सय ५३ रुपैयाँ २१ पैसा उठाई एक हजार ५४ जना ग्राहकको पुनस्लाइन जडान गरिएको विराटनगर वितरण केन्द्रले जनाएको छ। केन्द्रअन्तर्गतका ग्राहकबाट रु ६१ करोड ५८ लाख ८३ हजार ८ सय ५८ रुपैयाँ ६१ पैसा बक्यौता असुल गर्न बाँकी छ । नेपाल विद्युत् प्राधिकरणको विराटनगर वितरण केन्द्रअन्तर्गत हाल ८३ हजार ७ सय ३२ जना ग्राहक रहेका छन् ।
विद्युत् महसुल सङ्कलन विनियमावली, २०७८ बमोजिम मिटर रिडिङ भएको १६औँ दिनदेखि थप दस्तुर आकर्षित हुने व्यवस्था छ । मिटर रिडिङ भएको मितिले १६औँ दिनदेखि ३० औँ दिनसम्म पाँच प्रतिशतका दरले र ३१औँ दिनदेखि ४०औँ दिनसम्म १० प्रतिशतका दरले थप दस्तुर लाग्ने प्रावधान छ । मिटर रिडिङ भएको मितिले ४०औँ दिनसम्म पनि विद्युत् महसुल नबुझाउने उपभोक्तालाई ४१औँ दिनदेखि बिलको २५ प्रतिशतका दरले थप दस्तुर लाग्ने व्यवस्था छ । २५ प्रतिशतका दरले थप दस्तुर लागेको ६०औँ दिनसम्म पनि बक्यौता महसुल नबुझाएमा लाइन काट्ने व्यवस्था रहेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया