बारेकोटमा बालबिवाह बढ्दो क्रम – Nagarikabhiyan : National News

बारेकोटमा बालबिवाह बढ्दो क्रम

जाजरकोट जिल्लाको बारेकोट गाउँपालिकामा बालबिवाह बढ्दो क्रममा छ । बारेकोट गाउँपालिका भरी बालबिवाह हुने गरेको पाइएको छ । कोही भागेर कोही अभिवाककै सहमतिमा बालबिवाह हुने गरेको हो । यहाँ बालबिवाह रोकथामका लागि सचेतनाका कार्यक्रम नभएका कारणले पनि बालबिवाह बढेको देखिन्छ ।

प्रया किशोरी आमा बनेका छन् भने केही किशोरी आमा बन्ने तरखरमा छन् । बारेकोट–१ रामीडाँडा स्वास्थ्य चौकीमा सेवा लिन आएका ७६ जना सुनौला हजार दिनका आमा मध्य ३५ जना किशोरी उमेरका महिला कसैले काखमा बच्चा च्यापेका थिए भने कोही गर्भवती थिए । बारेकोट १ रामीडाँडाकी राधिका रोकाया वर्षले १७ पुग्नुभयो । रोकायाको काखमा एक वर्षको बच्चा छ । अभिवाककै सहमतिमा आफुले १५ वर्षको उमेरमा बिवाह गरेको सुनाउनुभयो ।

राधिका जस्तै १९ वर्षकी स्नेहा रोकाया गर्भवती हुनुहुन्छ । पेटमा आठ महिनाको बच्चा हुर्किरहेको बताउनुभयो । रोकायाले पनि आफु अभिवाककै सहमतिमा बिवाह गरेको बताउनुभयो । स्नेहाले के भनौ जे भयो ठिकै छ भन्दै पेटको बच्चाको राम्रोका लागि आफु स्वास्थ्य संस्थामा पटक पटक आउने गरेको बताउनुभयो । छ महिना गर्भ बसेका र बच्चा जन्माएका महिलाहरु पोषण युक्त पिठु लिन आएका थिए । त्यहाँ रहेका महिलाहरु अधिकांश किसोरी उमेरकै महिला थिए ।

कसैका चार बच्च भएका वर्षले २६ सम्मका थिए भने कोही १६ वर्षदेखि माथि र २० वर्ष मुनिका महिला गर्भवती र बच्चा जन्माएका थिए । बालबिवाह गर्नु हुँदैन भनेर खासै चेतनाका कार्यक्रम नभएकाले पनि यस्तो भएको यहाँका नागरिकको भनाइ छ ।

दुई बच्चा की आमा हिमाली नेपाली उमेरले २१ वर्ष पुग्नुभयो ।उहाँले बालबिवाह गर्नु हुँदैन भनेर गाउँमा चेतना नभएकै कारणले सानै उमेरमा बिवाह हुने गरेको बताउनुहुन्छ । आफु २१ वर्षको भए । तर दुई बच्चा छन् । यदी चेतना हुन्थ्यो भने बिवाह गर्ने उमेर अहिले होइन भनेर भनिन्थ्यो होला ।

चेतना अभिवृद्धी गर्ने निकायको अभावले पनि बारेकोट गाउँपालिका भरी बालबिवाह हुने गरेको अभिवाकको भनाइ छ । बारेकोट ५ का दानवहादुर सिहंले यहाँ सानै उमेरमा बिवाह गर्ने पुरानै चलन कायम रहेको बताउनुभयो । ७६ वर्षीय सिहंले खासै कानुनी रुपमा यती वर्ष उमेर पुगेकाले बिवाह गर्ने हो भनेर जानकारी दिने निकायको अभाव भएको सुनाउनुभयो । वडा नं ५का निवर्तमान अध्यक्ष अजबिर सिहंले सरकारसँग जनशक्ती छैन, गैरसरकारी संस्थाको त्यस्तो कार्यक्रम नभएकै कारणले बालबिवाह रोक्ने अभियान चलाउन नसकेको सुनुउनुभयो ।

आफु दुई कार्यकाल गाउँ विकास समितिको अध्यक्ष र एक कार्यकाल सङ्घीयतापछि वडा अध्यक्ष हुनुभएका ८१ वर्षीय अजबिर सिंहले बालबिवाहका धेरै असर समाजमा देखा परेपनि समुदाय सचेत नभएको सुनाउनुहुन्छ ।

कतिपय किशोरीको सुत्केरी हुन नसकेर अकालमै ज्यान जाने गरेको छ । तर समुदाय यसमा सचेत हुन सकिरहेको छैन सिहंले चिन्ता व्यक्त गर्नुभयो ।