प्रधानमन्त्री कप महिला क्रिकेटमा आज चार खेल हुँदै
८ पुष २०८०, आईतवार ०८:३८
प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगितामा चार खेल हुँदैछन्।
आज हुने खेलमा मधेश प्रदेशले कोशी प्रदेशको सामना गर्दैछ । त्रिवि मैदानमा हुने खेल बिहान साढे ९ बजे सुरु हुनेछ।
आजको खेलमा कोशी लगातार तेस्रो जित दर्ता गर्ने योजनामा छ। राष्ट्रिय टिमका नियमित चार जना खेलाडीको साथ पाएको कोशी उपाधि दावेदारसमेत हो।
उसले यसअघि कर्णाली र बागमतीलाई हराएको छ। मधेशले यसअघिका दुवै खेलमा हार ब्यहोरेको छ।
आज बिहान साढे ९ बजे नै हुने खेलमा लुम्बिनी प्रदेशले प्रतियोगिताकै सबैभन्दा बलियो एपीएफ क्लबको सामना गर्नेछ। महिला क्रिकेटमा एपीएफ सबैभन्दा धेरै उपाधि जितिसकेको टोली हो। त्यसैले पनि एपीएफ आज लुम्बिनीलाई पनि हराउने लक्ष्यमा हुनेछ। उसले यसअघि मधेश र सुदूरपश्चिम प्रदेशलाई हराएको थियो।
यो खेल मुलपानी क्रिकेट मैदानमा हुनेछ। आजै दिउँसो सवा १ बजे हुने खेलमा कर्णाली प्रदेशले सुदूरपश्चिमको सामना गर्नेछ। त्यसैगरी मुलपानी मैदानमा बागमतीले गण्डकीसँग खेल्ने तालिका छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया