ओइलायो १७ वर्षीया पुष्पाले गाँसेको माला आएनन दाजु विपिन जोशी
२९ कार्तिक २०८०, बुधबार १२:११
तिहारसँगै कञ्चनपुरको भीमदत्त अरू ठाउँ जस्तै झिलिमिली छ । तिहार बिदासँगै केटाकेटी लिङ्गे पिङ मच्चाइरहेका छन् । आहा १ तिहार आयो’ भन्दै रमाइरहेका छन् ।
भीमदत्तका हरेक बस्तीमा घरका आँगन र मुलढोका माटोले पोतिएका छन् । सबैको आँगनमा रंगोलीको रङ्गिन चित्र कोरिएको छ। फूल पसलमा बाक्लै भीड छ । घर र पसल सजाउन फूल किन्नेहरूको घुइँचो छ । कतिपय फूलबारीमै पुगेका छन् । फूल पनि कति थरि, सयपत्री मखमली, हजारी, यस्तै यस्तै फक्रिरहेका देखिन्छन् । बजारमा किनमेल गर्नेको उस्तै ताँतीजताततै तिहारको माहौलले छपक्कै छाइसकेको छ । कतिपय भनिरहेका छन् ‘दशैँभन्दा अझ तिहार रमाइलो’ ।सिङ्गो देशसँगै कञ्चनपुर पनि दीपावलीमय बनेको छ । काठमाडौं र अरू शहर कर्मथलो बनाएका डेरावालाहरूको गाउँ फर्किएका छन्, तिहार मनाउन ।

अधिकांशका घरका आँगनमा तिहारकालागि साँचेर राखेका सयपत्री फूलले बारी ढकमक्क बनेका छन् । दिदीबहिनीहरू फुलको माला गाँसिरहेका छन् । भाइमसला किनेर ल्याइसकेका छन् । गृहिणी सेल पकाउन व्यस्त देखिन्छन् । सबैभित्र टाँगिएका देखिन्छन्, झिलिमिली बत्तीहरू ।
सबैतिर तिहारको छाएको छ। तर भीमदत्त ३ की १७ वर्षीया पुष्पा जोशीको घरको दृश्य फरक छ । त्यहाँ भने अँध्यारो छ । सबैको घरमा दाजु बहिनी जम्मा भैसकेका छन् । मिठामिठा सेलरोटीहरू पाकिरहेका छन् । देउसी भैलोले गाउँ नै गुञ्जायमान भइरहेको छ। तर, पुष्पाको परिवारलाई त्यो माहौलले छोएको छैन ।

आँगनमा सयपत्री र मलमली फूल ढकमक्क नफुलेको पनि होइन छ। पुष्पाले माला उन्ने तयारी नगरेकी पनि होइनन् । तर, आँगनीको फूल आइलिन लागिसक्यो ।
अघिल्ला वर्षहरूका तिहार आएलगतै पुष्पा घर रङ्ग लगाउन, रंगोली बनाउन र झिलिमिली पार्न अघि सर्थिन् । दाइ विपिनले उनलाई सबै काममा सघाउँथे । तर, यसपटक उनी एक्ली छिन् आँगनीको डिलमा बसेर दाइ विपिनको बाटो कुरेर बसिरहेकी छिन् । मोबाइलमा दाइसँग म्यासेन्जरमा पहिला भएका कुराकानीका हेरिरहेकी छिन् । यताबाट एकोहोरो म्यासेज लेख्छिन्, कुनै जवाफ नआउँदा चिन्तित छिन् ।
पुष्पाका दाइ २३ वर्षिय विपिनी उनै हुन्, जो इजरायलबाट अपहरणमा परेका थिए । १० जना नेपाली मारिएकै दिन उनी बेपत्ता भए । दुई महिनाअघि इजरायल गएका दाइ विपिन हमास–इजरायल द्वन्द्वसँगै सम्पर्कविहीन भएका हुन् ।
नेपाल फर्किएका उनका साथीहरूका अनुसार विपिनलाई हमासका सेनाले लगेका थिए । इजरायली सरकारले विपिन हमासको नियन्त्रणमा रहेको पुष्टि गरेको छ। तर, हालसम्म उनको अवस्थाबारे थाहा छैन ।
सुदूरपश्चिम विश्वविद्यालयअन्तर्गतको टीकापुर बहुमुखी क्याम्पसमा कृषि संकायमा अध्ययनरत थिए विपिन । भदौ २६ मा ‘अर्न एन्ड लर्न’ कार्यक्रमअन्तर्गत इजरायल गए । इजरायल जानुअघि उनी भदौ १४ मै घरबाट काठमाडौं गएका थिए । जाने बेला विपिनले बहिनीलाई काम र पढाइ दुवै राम्रो भएकाले छिट्टै घर फर्किने वाचा गरेका थिए ।
गएको महिना दिन नपुग्दै २० असोजमा अपहरणमा परे । त्यसपछि विपिन कस्तो अवस्थामा कहाँ छन्, उनी कहिले छुट्छन् केही थाहा छैन । उनको अज्ञात अवस्था अनिश्चयले पुष्पा र उनका बुबाआमा आत्तिएका छन् ।
पुष्पाले भन्छिन्दा दा सकुशल फर्किनुहोला भन्ने आश छ । दशैँ तिहार रोकिए पनि अहिलेसम्म कुनै वर्ष पनि हाम्रो तिहार रोकिएको थिएन । मलाई थाहा भएदेखि दादालाई टीका लगाउन छुटाएकी छैन । यसपालि पनि माला उनेर राखेकी छु । तर टीकाको अघिल्लो दिनसम्म कुनै खबर आएको छैन ।

फेसबुकबाट तपाईको प्रतिक्रिया