सेमिफाइनलअघि भारतीय कप्तानले भने– न्युजिल्यान्डको कमजोरी हामीलाई थाहा छ – Nagarikabhiyan : National News

सेमिफाइनलअघि भारतीय कप्तानले भने– न्युजिल्यान्डको कमजोरी हामीलाई थाहा छ

भारतीय क्रिकेट टिमका कप्तान रोहित शर्माले न्युजिल्यान्डको शक्ति र कमजोरीको बारेमा आफ्नो टिमलाई थाहा भएको बताएका छन् । सेमिफाइनल खेलअघि आज मङ्गलवार सञ्चारमाध्यमसँग कुरा गर्दै रोहितले यस्तो बताएका हुन् ।

सेमिफाइनलमा भारतले भोलि बुधवार दिउँसो सवा २ बजे शुरु हुने खेलमा मुम्बईको वानखेडे स्टेडियममा न्युजिल्यान्डको सामना गर्दैछ । भारतीय टिम अहिलेसम्म प्रतियोगितामा अपराजित छ र लिग राउन्डमा न्युजिल्यान्डलाई ४ विकेटले हराएको थियो ।

धर्मशालामा भएको त्यो खेलमा न्युजिल्यान्डका कप्तान केन विलियमसन घाइते भएका कारण खेलेका थिएनन् । विलिमयसन मुम्बईमा हुने सेमिफाइनल खेल्नेछन् र उनले दुवै टिमसँग बराबर मौका भएको बताएका छन् ।

भारतीय कप्तान रोहित शर्माले न्युजिल्यान्ड सबैभन्दा अनुशासित टिम भएको बताउँदै भने, न्युजिल्यान्ड निकै स्मार्ट तरिकाले खेल्छ । उसले हाम्रो धेरै खेलाडीसँग खेलेको छ । उसले हाम्रो मानसिकतालाई बुझ्छ । हामीलाई पनि थाहा छ उनीहरू कसरी खेल्छन् भन्ने । उनीहरूको शक्ति र कमजोरी हामीलाई थाहा छ ।

‘हामीलाई यो हप्ताको महत्त्व थाहा छ । प्रतियोगितामा हामीले जे गर्दै आइरहेका छौँ, हामीलाई त्योभन्दा केही नयाँ गर्ने आवश्यकता छैन’, रोहितले थपे ।