पब्लिक टिभीबाट भूकम्पपीडितलाई १० लाखको राहत
२७ कार्तिक २०८०, सोमबार १६:५०
पोखराबाट सञ्चालनमा रहेको पब्लिक फोर के टेलिभिजनले रुकुम पश्चिम को आठविसकोट नगरपालिकाका भूकम्पपीडितलाई करिब १० लाख मूल्य बराबरको राहत वितरण गरेको छ।
भूकम्पबाट प्रभावित भएकाहरूमध्ये सबैभन्दा समस्यामा रहेकाले अत्यावश्यक रूपमा राहत दिनुपर्ने एक सय परिवारलाई राहत सामग्री बाँडिएको टेलिभिजनका प्रबन्ध निर्देशन मन क्षेत्रीले बताए।
उनका अनुसार त्रिपाल ब्ल्यांकेट, पि फर्म, तन्नासँगै ३० केजी चामल दाल चना नुन तेल बेसार मसला साबुनलगायतका दैनिक उपभोग्य वस्तु राहत प्याकेजमा वितरण गरिएको हो। टेलिभिजन कै तर्फबाट लगिएका स्वास्थ्य सामाग्रीहरू समेत नगरपालिकालाई हस्तान्तरण गरिएको छ।
राहत लिएर पुगेको टेलिभिजनको टोलीले केही गाउँमा नगरपालिकाको समन्वयमा राहत आफैँ वितरण गर्यो भने केही ठाउँका लागि नगरपालिकामार्फत हस्तान्तरण गरेको छ।
आठविसकोट नगरपालिका–१३ भल्मामा राहत वितरण गर्दै नगर प्रमुख रवि केसीले सञ्चारमाध्यमले समाचार सम्प्रेषणसँगै भूकम्पपीडितको घाउमा मलम लगाउनुपर्ने बताए।
‘क्यामेरामा यहाँको दुख खिचेर देखाएर मात्रै हुँदैन। मिडियाले पीडामा परेका नागरिकको घाउमा मलम पनि लगाउन सक्नुपर्छ। पब्लिक टिभीले राहतसमेत ल्याएर प्रशंसनीय काम गरेको छ’, उनले भने। नगरपालिकाले एकद्वार प्रणालीबाट राहत वितरण गरिरहेको पनि नगर प्रमुख केसीले जानकारी दिएका छन्।

फेसबुकबाट तपाईको प्रतिक्रिया