तपाईंहरु विश्राम लिइदिनुस यो व्यवस्थालाई कसैले केही गर्न सक्दैन गगन थापा
२२ कार्तिक २०८०, बुधबार ०८:०३
नेपाली कांग्रेसका महामन्त्री गगन थापाले अब शीर्ष नेताहरुले राजनीतिबाट विश्राम लिए अहिलेको व्यवस्थालाई कसैले केही गर्न नसक्ने बताएका छन् । मगलबार प्रधानमन्त्री पुष्पकमल दाहालको आह्नानमा सिंहदरबारमा गणतन्त्रवादी दलका नेताहरुको बैठक बसेकोबारे टिप्पणी गर्दै महामन्त्री थापाले शीर्ष नेताहरुले देशका लागि यो व्यवस्थामा गर्न सक्ने र दिन सक्ने सबै योगदान दिइसकेको बताएका छन् ।
यो गणतान्त्रिक व्यवस्था स्थापना गर्न तपाईंहरू शीर्ष नेता ले निभाउनुभएको भूमिका महत्त्वपूर्ण छ । इतिहासले सधैँ सम्झिने छ । तपाईंहरू फेरि भन्दै हुनुहुन्छ यो व्यवस्था बलियो बनाउन एकजुट हुनु पर्यो थापाले भनेका छन्,मैले भन्दै आएको छु, फेरि भन्छु(तपाईं शीर्ष नेताहरूले यो व्यवस्थामा गर्न र दिन सक्ने सबै योगदान दिइसक्नुभयो । अब सक्रिय राजनीतिबाट विश्राम लिदिनु भयो भने यो व्यवस्थालाई कसैले केही गर्नै सक्दैन ।
उनले अहिलेको व्यवस्थालाई बलियो बनाउन सबै शीर्ष नेताहरु एकजुट भएर गर्ने काम भने सक्रिय राजनीतिबाट विश्राम लिने मात्रै रहेको दोहोर्याएका छन् । शीर्ष नेताहरुले राजनीतिबाट विश्राम लिँदा इतिहासले श्रद्धापूर्वक सम्झने र गणतन्त्रविरुद्ध उठेका आवाज आफैं बिलाएर जाने उनको दाबी छ ।
यो व्यवस्थालाई बलियो बनाउन तपाईंहरू एकजुट भएर यही एउटा मात्रै काम गरिदिनुहोस् । इतिहासले तपाईंहरूलाई अझै श्रद्धापूर्वक सम्झिने छ, सम्मान गर्नेछ । र गणतन्त्रविरुद्ध जस्तो अराजक आवाजहरू उठिरहेका छन्, ती आवाजहरू आफैँ हराउँदै जानेछन् । आम जनतामा व्यवस्थाप्रतिको विश्वास अझै मजबुत हुनेछ,’ थापाले भनेका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया