४५ वर्षअघि नै पोखरा आएको थिए गुटेरेस – Nagarikabhiyan : National News

४५ वर्षअघि नै पोखरा आएको थिए गुटेरेस

सोमबार दिउँसो पोखरा आएका राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेस पुम्दीकोट पुगे । महादेवको विशाल मूर्ति रहेको स्थलबाट उनले पोखरा, फेवाताल र हिमशृंखला नियाले । सेनाको जहाजमा पुरानो विमानस्थलमा ओर्लिएका गुटेरेसलाई गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे, पर्यटन मन्त्री दीपेन्द्रबहादुर थापा, पोखरा महानगरपालिका प्रमुख धनराज आचार्यलगायतले स्वागत गरे ।

गुटेरेसले पुम्दीकोटबाट पोखरा नियाले, फेवातालमा नौका विहार गरे
सोमबार पोखरा आइपुगेका संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेस । तस्बिर स् दीपक परियाररकान्तिपुर

उनलाई स्वागत गर्न पोखराका पर्यटन व्यवसायी, विभिन्न संघसंस्थाका प्रतिनिधि विमानस्थल पुगेका थिए । पञ्चैबाजा, गुरुङ, मगर, नेवार जातिको सांस्कृतिक झाँकीले उनलाई स्वागत गरिएको थियो ।

विमानबाट ओर्लनैबित्तिकै उनले आफू ४५ वर्षअघि पहिलोपल्ट पोखरा आएको स्मरण गरेका थिए । ‘त्यतिबेला उहाँ विद्यार्थीका रूपमा पोखरा आउनुभएको रहेछ,’ महानगर प्रमुख आचार्यले भने, ‘यहीँबाट दिल्ली पुग्नुभएको रहेछ ।’ विमानस्थलबाट उनी फेवातालपारिको फिस्टेल लज पुगे । केहीबेर आराम गरेपछि उनी दृश्यावलोकनका लागि महादेवको विशाल मूर्ति रहेको पुम्दीकोट पुगेका थिए । उनले दुईपल्ट महादेव मूर्तिको परिक्रमा गरे ।

भूगोलविद् टोनी हेगनले सन् १९५० मा पोखराबाट कैद गरेको माछापुच्छ्रेसहित अन्नपूर्ण हिमशृंखलाको तस्बिर महानगर प्रमुख आचार्यले गुटेरेसलाई देखाए । आचार्यका अनुसार उक्त तस्बिर हेरेपछि गुटेरेसले अन्नपूर्ण, धौलागिरि, माछापुच्छ्रे लगायत हिमालबारे चासो देखाएका थिए । पुम्दीकोटबाट पोखरा नियालेपछि गुटेरेसले पोखरा पहिलेभन्दा फेरिएको प्रतिक्रिया दिएका थिए । ‘उहाँले पोखराको सुन्दरताको प्रशंसा नै गर्नुभयो,’ आचार्यले भने, ‘यहाँको स्वागत सत्कारले खुसी नै हुनुभयो ।’ महासचिवको पोखरा भ्रमणले गण्डकी प्रदेशकै पर्यटन प्रवर्द्धनमा भूमिका खेल्ने उनी बताउँछन् । भन्छन्, यो हाम्रो लागि ठूलो अवसर हो । पुम्दीकोटबाट झरेपछि उनी फिस्टेल लजबाट बाराही मन्दिरसम्म मोटरबोटमा सरिक भएका थिए ।

मंगलबार बिहान ६स्३० बजे उनी सेनाकै हेलिकप्टरमा अन्नपूर्ण आधार शिविर पुग्नेछन् । समुद्री सतहबाट ४ हजार १ सय ३० मिटर उचाइमा रहेको आधार शिविरमा उनले जलवायु परिवर्तनले स्थानीयको दैनिक जीविकोपार्जनमा पारेको असरबारे बुझ्नेछन् । स्थानीयले आफ्ना समस्या सुनाउने छन् । छोम्रोङ पर्यटन व्यवस्थापन समितिका अध्यक्ष जगनरास गुरुङले महासचिव गुटेरेसलाई मायाको चिनोस्वरुप अन्नपूर्ण आधार शिविरको तस्बिर प्रदान गर्ने बताए । उहाँ आउने खबरले हामी निकै उत्साही छौं । तयारी पनि पूरा भएको छ उनले भने, ‘तापक्रम वृद्धिका कारण यस क्षेत्रले भोग्नुपरेको समस्या सुनाउने छौं ।’