उपप्रधानमन्त्री श्रेष्ठ अस्पतालभित्रै हिँडडुल गर्न थाल्नुभयो – Nagarikabhiyan : National News

उपप्रधानमन्त्री श्रेष्ठ अस्पतालभित्रै हिँडडुल गर्न थाल्नुभयो

काठमाण्डाै – उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठको स्वास्थ्य सामान्य बन्दै गएको छ । चीनको भ्रमणका क्रममा रहँदा यही कात्तिक १ गते हृदयाघात भएपछि उहाँ बेइजिङको पेकिङ मेडिकल कलेज अस्पतालमा उपचाररत हुनुहुन्छ ।

उपप्रधानमन्त्री श्रेष्ठ आज शनिवार बिहानदेखि अस्पतालभित्रै सामान्य हिँडडुल गर्न थाल्नुभएको उहाँका स्वकीय सचिव सुरेशकाजी श्रेष्ठले जानकारी दिनुभयो । हृदयाघात भएपछि उहाँको छातीमा स्टेन्टु राखिएको छ ।

यसैबीच उपप्रधानमन्त्री श्रेष्ठसँग चिनियाँ समकक्षी एवम् चीनका सार्वजनिक सुरक्षामन्त्री वाङ सियाओहङले अस्पतालमा भेट गरी शीघ्र स्वास्थ्य लाभको कामना गर्नुभएको छ । यसअघि सार्वजनिक सुरक्षामन्त्री वाङले उपप्रधानमन्त्री श्रेष्ठको स्वास्थ्य उपचारमा कुनै कसर बाँकी नराख्न निर्देशन दिनुभएको थियो ।

चिनियाँ कम्युनिस्ट पार्टीको केन्द्रीय अन्तर्राष्ट्रिय विभागका निर्देशक पेङ सीउ सानले उपप्रधानमन्त्री श्रेष्ठसँग भेट गरी स्वास्थ्य लाभको कामना गर्नुभएको छ । चिनियाँ विदेशमन्त्री वाङ यीले आफ्नो प्रतिनिधि पठाएर उपप्रधानमन्त्री श्रेष्ठको स्वास्थ्य लाभको कामना गर्नुभएको स्वकीय सचिव श्रेष्ठले जानकारी दिनुभयो । चीन सरकारले उपप्रधानमन्त्री श्रेष्ठको उपचारमा उच्च प्राथमिकता दिएको छ ।

तेस्रो बेल्ट एन्ड रोड फोरम फर इन्टरनेशनल को–अपरेसन ९बीएफआर० मा सहभागी हुन बेइजिङ पुगेका बेला उपप्रधानमन्त्री श्रेष्ठ अस्वस्थ बन्नुभएको थियो ।