नेपाल र जापानको खेल वर्षाले प्रभावित – Nagarikabhiyan : National News

नेपाल र जापानको खेल वर्षाले प्रभावित

काठमाडौं : एसीसी अन्डर नाइन्टिन प्रिमियर कपको खेल वर्षाले प्रभावित भएको छ। नेपाल–जापानबीचको प्रतिस्पर्धमा नेपालले २ विकेट गुमाएर १४० रन बनाएपछि वर्षा सुरु भएको हो।
जापानले टस जितेर फिल्डिङ रोजेपछि नेपाल ब्याटिङमा उत्रिएको थियो। मलेसियाको यूकेएम वाईएसडी मैदानमा औसत सुरुआत गरेको नेपालले ३२ रनमै पहिलो विकेट गुमाएको थियो।

ओपनर अर्जुन कुमाल व्यक्तिगत १० रनमै यामा–मोतो लाकेको बलमा क्याचआउट भए। जापानले ५७ रन बनाएको अवस्थामा दीपकको क्याच मिस गरेको थियो। तर ७९ रन बनाएपछि भने दीपक ऋत्विकको हातबाट क्याचआउट भए। उनी पभेलियन फर्किँदा दोस्रो विकेट गुमाएको नेपालले १४० रन बनाएको छ।

नेपालका कप्तान देव खनाल र आकाश त्रिपाठीले ब्याटिङ गरिरहँदा वर्षा भएको थियो।
नेपालले समूह चरणका सबै खेलमा फराकिलो जित दर्ता गरेको थियो। समूहको पहिलो खेलमा इरानलाई २७४ रनले जितेको नेपालले दोस्रो खेलमा सात विकेटको जित दर्ता गर्यो। तेस्रो खेलमा साउदीलाई ३०१ रनले हराएपछि नेपालले सेमिफाइनलमा स्थान पक्का गरेको हो।

यो खेल जित्ने टिम फाइनल पुग्नेछ भने अर्को वर्ष श्रीलंकामा हुने एसिया कपका लागि पनि छनोट हुनेछ।​ आजै अर्को सेमिफाइनलमा यूएईले सिंगापुरबीचको खेल जारी छ।