अष्ट्रेलियासँग पाकिस्तान ६२ रनले पराजित – Nagarikabhiyan : National News

अष्ट्रेलियासँग पाकिस्तान ६२ रनले पराजित

दुई अपोनरको शतक र स्पिनर एडम जाम्पाको उत्कृष्ट बलिङमा अष्ट्रेलियाले आइसिसी विश्वकपमा पाकिस्तानमाथि ६२ रनको जित हात पारेको छ।
जितसँगै अष्ट्रेलियाले शीर्ष चारको सम्भावना बढाएको छ । जितको लागि ३ सय ६८ रनको विशाल विजयी लक्ष्य पछ्याएको पाकिस्तान ४५ दशमलव ३ ओभरमा ३ सय ५ रनमा अल आउट भयो। पाकिस्तानका ओपनर इमाम उल हकले सर्वाधिक ७० रन बनाए। अब्दूल्लाह शफिक ६४ रनमा आउट भए। अन्य पाकिस्तानी ब्याटरले राम्रो प्रदर्शन गर्न सकेनन्।

पहिलो विकेटका लागि अब्दूल्लाह र इमामले २१ दशमलव १ ओभरमा १ सय ३४ रनको शतकीय साझेदारी गर्दै पाकिस्तानलाई सानदार सुरुवात दिलाएका थिए। त्यसपछि स्पिनर एडम जाम्पाले पाकिस्तानको मध्यक्रम धरासयी बनाएका थिए।

जाम्पाले १० ओभरमा ५३ रन खर्चेर सर्वाधिक ४ विकेट लिए। मार्कस स्टोइनिस र प्याट कमिन्सले २२ विकेट लिए। जोश हेजलवुड र मिचेल स्टार्कले एक एक विकेट लिए ।
त्यसअघि बेंगलोरमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको अष्ट्रेलियाले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै ३ सय ६७ रन बनाएको थियो। एक समय अष्ट्रेलियाले सजिलै ४ सय रन कटाउने अनुमान गरिएको छ। तर अन्तिम १० ओभरमा ७० रन बनाउँदा ६ विकेट गुमाएपछि ४ सय रनको आँकडा छुन सकेको थिएन।

अष्ट्रेलिया जितमा ओपनर डेविड वार्नरले १ सय २४ बलमा १४ चौका र ९ छक्कासहित सर्वाधिक १ सय ६३ रनको सानदार शतकीय इनिङ खेले। वार्नरले ओडिआई करिअरमा सातौं पटक १ सय ५० औं रन कटाएका हुन्।
अष्ट्रेलियालाई ओपनर मिचेल मार्श र डेविड वार्नरले पहिलो विकेटका लागि ३३ दबलमव ५ ओभरमा २ सय ५९ रनको सानदार दोहोरो शतकीय साझेदारी गर्दै विशाल योगफलको आधार बनाएका थिए।

मार्श १ सय ८ बलमा १० चौका र ९ छक्कासहित १ सय २१ रनमा आउट भए।
यी दुई ब्याटर बाहेक अन्यले भने ठूलो इनिङ खेल्न सकेनन्। मार्कस स्टोइनिस २१, जोश इंग्लिस १३, मार्नस लाबुसेन ८ र मिचेल स्टार्क २ रनमा आउट भए। प्याट कमिन्स ६ रनमा नट आउट रहे।

पाकिस्तानका शाहिन शाह अफ्रिदीले सर्वाधिक ५ विकेट लिएपनि जितको लागि पर्याप्त हुन सकेन। हरिस रौफले ३ विकेट लिए। उस्मा मिरले १ विकेट लिए ।

अष्ट्रेलिया पहिलो खेलमा भारतसँग ६ विकेट र दोस्रो खेलमा दक्षिण अफ्रिकासँग १ सय ३४ रनले हारेको थियो। तेस्रो खेलमा श्रीलंकालाई ५ विकेटले हराएको थियो। अव अष्ट्रेलियाले बुधबार दिल्लीमा नेदरल्यान्ड्ससँग खेल्नेछ।

पाकिस्तानले नेदरल्यान्ड्सलाई ८१ रन र श्रीलंकालाई ६ विकेटले हराएको थियो । भारतसँग ७ विकेटले हारेको थियो । पाकिस्तानले अव सोमबार अफगानिस्तानसँग खेल्नेछ ।

यो जितसँगै अष्ट्रेलिया ४ खेलमा २ मा जित र २ मा हारसहित ४ अंकका साथ चौथो स्थानमा उक्लिएको छ । पाकिस्तान ४ खेलमा २ मा जित र २ मा हारसहित ४ अंकका साथ पाँचौं स्थानमा पुगेको छ । न्युजिल्यान्ड ४ खेलमा ८ अंकका साथ शीर्षस्थानमा छ । ४ खेलमा ८ अंक भएपनि भारत नेटरनरेटका कारण दोस्रो स्थानमा छ । दक्षिण अफ्रिका ३ खेलमा २ मा जित र १ मा हारसहित तेस्रो स्थानमा छ । इंग्ल्यान्ड ३ खेलमा २ अंकका साथ छैटौं स्थानमा छ ।