सरकारको लापरवाहीकै कारण दुई किलो चिनी किन्न धादिङका बासिन्दा काठमाडौँमा
२ कार्तिक २०८०, बिहीबार १८:१८
बजारमा चिनी अभाव भएपछि काठमाडौँको सुपथ मूल्य पसलमा धादिङदेखि मानिसहरू दुई किलो चिनी किन्नका लागि काठमाडौँ आएका छन्।
नेपालीको मुख्य चाड दशैँ, तिहार र छठको समयमा बजारमा चिनी अभाव भएपछि धादिङ छत्रेदेउरालीका साधुरामप्रसाद भट्टराई काठमाडौँको कालिमाटीस्थित साल्ट ट्रेडिङ कर्पोरेशनमा आएका हुन्।
दशैँ, तिहार र छठमा नेपालीले ठूलो मात्रामा चिनी प्रयोग गर्ने समयमा सरकारले दायित्व निभाउन नसकेको भट्टराईले बताए। उनले मुख्य चाडपर्वको वेला २ किलो चिनी किन्न धादिङदेखि काठमाडौँ आउनुपर्ने बाध्यता सरकारको लापरवाहीकै कारण भएको भन्दै आक्रोश व्यक्त गरे।
उनले चिनी लगायत दैनिक उपभोग्य वस्तु समयमै उपलब्ध गराउनु राज्यको दायित्व भएको भन्दै राज्यले जनताप्रतिको दायित्व बिर्सेको आरोप लगाए। उनले धादिङमा चिनी पाइए पनि किलोको १६० रुपैयाँसम्म पर्ने गरेको बताए। उनले जन्मेदेखि पहिलोपटक धादिङबाट २ किलो चिनी किन्न काठमाडौँमा आउनु परेको बताए।
त्यसैगरी सहुलियत पसलमा चिनी किन्न लाइन लागेकी सावित्रा उप्रेतीले चिनी किन्न दुई घण्टा लाइन लाग्नुपरेको बताइन्। उनले दशैँ, तिहार र छठ आउने समयमा सरकारले आवश्यकता अनुसार समयमै उपलब्ध गराउन नसक्नु सरकारकबो लाचारी भएको बताइन्।
उनले सरकारले सञ्चालन गरेको सहुलियत पसलभन्दा बाहिरका पसलमा चिनी नपाएको भन्दै २ किलो भए पनि लाइन बसेर लिन आएको बताइन्। उनले सरकार जनताप्रति उत्तरदायी नहुँदा हरेक वर्ष ग्याँस, चिनी, नुन लगायत अन्य खाद्यान्नको अभाव झेल्दै आएको भन्दै जनतालाई सधैँ सास्ती मात्रै दिएको बताइन्।
त्यसैगरी कीर्तिपुरबाट चिनी किन्न सहुलियत पसल आएकी पवित्रा थापाको पनि उस्तै गुनासो रहेको छ। उनले चिनी नपाएकाले सहुलियत पसलमा चिनी किन्न आएको बताइन्। उनले २ किलो चिनी किन्न लामो लाइन बस्नुपर्दा दुःख लागेको बताइन्। उनले सरकारले राम्रो काम गर्न नसक्दा चाडपर्वको मुखमा जनताले दुःख पाएको भन्दै जनताप्रति सरकार उत्तरदायी बन्न नसकेको उल्लेख गरिन्।
साल्ट ट्रेडिङ कर्पोरेशनका विभागीय निर्देशक ब्रजेशकुमार झाले सरकारले आन्तरिक बजारबाट उपलब्ध गराएको ७० टन चिनी भएसम्म उपभोक्तालाई २ केजी उपलब्ध गराउने बताए। उनले लाइनमा बस्ने उपभोक्ताले अनिवार्य २ केजी चिनी पाउने बताए
उनले चिनी अभाव हुने विषयमा गत जेठमा सरकारसँग आग्रह गर्दा समयमा स्वीकृति नदिँदा चिनीमा समस्या आएको बताए। सरकारले समयमै स्वीकृत दिएको भए यस्तो अवस्था नआउने उनको भनाइ छ।
आन्तरिक रूपमा उत्पादन भएको चिनी ‘स्टक’ सकिएपछि अहिले बजारमा चिनी मूल्य ह्वात्तै बढेको छ। साल्ट ट्रेडिङ र खाद्य व्यापार तथा व्यवस्था कम्पनीले अहिले विभागले उपलब्ध गराएको ७० हजार किलो चिनी उपभोक्तालाई प्रतिकिलो ९७ रुपैयाँमा बेचिरहेका छन्।

फेसबुकबाट तपाईको प्रतिक्रिया