कुनै एउटा पार्टीले मात्रै सरकार चलाउनुपर्छ महामन्त्री थापा
२ कार्तिक २०८०, बिहीबार १५:२०
नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले कुनै एउटा पार्टीले मात्रै सरकार चलाउनुपर्ने बताएका छन्।
बिहीवार नेपाल प्रेस युनियन काठमाडौंले विजयादशमी तथा दीपावलीको अवसरमा आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै महामन्त्री थापाले कुनै एउटा पार्टीको मात्रै सम्पूर्ण मन्त्रिमण्डल रहने गरी सरकार चलाउनुपर्ने बताएका हुन्।
उनले समय निश्चित गरेर एउटा पार्टीलाई मात्रै सरकार चलाउन दिनुपर्ने बताए। उनले सत्तारुढ गठबन्धनका नेताहरूले राष्ट्रिय सहमतिको सरकार गठनको कुरा गरिरहेको उल्लेख गर्दै राष्ट्रिय सहमतिको सरकार आवश्यक नरहेको बताए। उनले राष्ट्रिय सहमतिको सरकार बनाउँदा झन् धेरै भागबण्डा गर्नुपर्ने अवस्था आउने बताए।
उनले कुनै एक पार्टीलाई मात्र सरकार चलाउन नदिने हो भने सरकार यस्तै अस्तव्यस्त भइरहेको उल्लेख गरे। उनले अहिलेको सरकारको कुनै प्राथमिकता नभएको बताए। महामन्त्री थापाले निर्वाचन पूर्व काँग्रेसले कुनै पनि गठबन्धन नगर्ने स्पष्ट पारे। उनले आगामी निर्वाचनमा गठबन्धन गरेर गए काँग्रेस पार्टी एक नरहने बताए।
थापाले भने, ‘२०८४ सालको चुनावमा हामी गठबन्धनमा जाँदैनौँ। गठबन्धन गरेर जान्छु भन्यो भने त्यो वेला नेपाली कांग्रेस पार्टी एक रहने कुरा नसोचे हुन्छ। क्लियर कुरा छ। यसमा कहीँ अलमल छैन।’
उनले निर्वाचन पूर्व गरिने गठबन्धनले लोकतान्त्रिक संस्कृतिलाई विकृत बनाउने बताए। उनले निर्वाचन पूर्वको गठबन्धन सैद्धान्तिक रूपमा गलत रहेको उल्लेख गर्दै काँग्रेसका आगामी महासमिति बैठक निर्वाचन पूर्वको गठबन्धनको विपक्षमा उभिनुपर्ने बताए।
महामन्त्री थापाले वर्तमान सरकारले फागुन १ गतेलाई जनयुद्ध दिवसको रूपमा मनाए नेपाली काँग्रेसले नमान्ने बताए। उनले काँग्रेसले फागुन १ गतेलाई कुनै पनि दिवसको रूपमा स्वीकार नगर्ने प्रष्ट पारे।
महामन्त्री थापाले नेपाली काँग्रेसलाई रूपान्तरण गर्नुपर्ने भन्दै यसका निम्ति सबै पार्टी कार्यकर्ता एकजुट भएर लाग्नुपर्ने बताए।

फेसबुकबाट तपाईको प्रतिक्रिया