बिहारको रामगढवा बजारमा एक नेपाली युवकको गोली हानी हत्या
१ कार्तिक २०८०, बुधबार १३:२४
भारत बिहारस्थित रामगढवा बजारमा रौतहटको सदरमुकाम गौरका एक युवकको गोली हानी हत्या गरिएको छ ।
वीरगञ्जसँगै सीमा जोडिएको भारतीय सहर रक्सौलबाट मात्र १३ किलोमिटर मोतीहारी जाने मुल सडकमा पर्ने रमगढ्वामा मंगलवार गौर नगरपालिका–९का ४० वर्षीय दिलीप सिंहको अज्ञात समूहले गोली प्रहार गरी हत्या गरेको हो ।
रमगढवा बजारस्थित शिव शक्ति राइस एन्ड फ्लोर मिलमा लेखापढी गर्ने मुन्सीको रुपमा जागिरे युवक सिंहमाथि पैसा लुट्ने उद्देश्यले गोली हत्या गरिएको अनुमान गरिएको छ । भारतीय सहर मुजफ्फररपुरबाट मिलको बक्यौता रकम सङ्कलन गरी फर्किरहेको अवस्थामा मिलको गेटमै उनीमाथि अज्ञात समूहले गोली प्रहार गरेको थियो ।
नजिकैबाट चलाइएको गोली सिंहको छातीमा लागेर उनको घटनास्थलमै मृत्यु भएको वडाध्यक्ष अर्जुन सिंहले भारतीय प्रहरीलाई उद्धृत गर्दै जानकारी दिए । गोली लागेर सिंह ढलेपछि उनले सङ्कलन गरी ल्याएको २९ लाख भारतीय रुपैयाँ उक्त समूहले लुटेर भाग्न सफल भएको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।
चार जनाको समूहमा आएका लुटेरा समूहले सिंहमाथि गोली प्रहार गरेको थियो । उक्त समूहले प्रयोग गरेको बिआर २९ जी ७८५१ नम्बरको बोलेरो गाडी प्रहरीले घटनास्थल बाट बरामद भएको तथा थप अनुसन्धान भइरहेको भारतीय प्रहरीले जनाएको छ । रौतहट प्रहरी प्रवक्ता डिएसपी दामोदर केसीले घटनाको पुष्टि गर्दै, मृतकको शव मंगलवार साँझ पीडित परिवारको जिम्मा लगाइएको तथा थप अनुसन्धान भारतीय प्रहरीले गरिरहेको जानकारी दिएका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया