कहिले नथाक्ने विराटनगरको एउटा युवासमुहः सडकपेटीकालाई १२० दिनसम्म निशुल्क पेट भरेको टिमले अब शरिर छोप्न ३०० लाई न्यानो कपडा
२६ कार्तिक २०७७, बुधबार १८:१६
विराटनगर । विराटनगरका विभिन्न सडक पेटिमा बस्ने गरिब, असहाय , मजदुर , विपन्न तथा बेसहाराहरुलाई १२० दिनसम्म निशुल्क खाना खुवाएको टिमले पुनः न्यानो कपडा वितरण अभियान सुरु गरेको छ । न्यानो कपडा वितरण अभियानको तेस्रो चरणमा बुधबार ३ सय जनलाई कपडा वितरण गरेको हो ।
सामाजिक अभियन्ता ओसिम आलमले नेतृत्व गरेको उक्त युवाहरुको समूहले विराटनगरका सडक पेटिमा रात काट्नेहरु ३ सय जनालाई ज्याकेट , सुईटर, शर्ट, पेन्ट, साडी, कुर्था सरुवाल तथा टोपी लगायतका लुगाकपडा वितरण गरेको हो । जाडो महिना भित्रिँदै गर्दा सडक पेटीमा जीवन व्यतित गर्ने कोहि पनि मानिसहरुकाे जाडोका कारण मृत्यु नहोस् भन्ने उद्देश्यका साथ कपडा वितरण गरेको युवा नेता समेत रहेका ओसिम आलमले जानकारी दिए ।
यसअघि यो समुहले दशैंअघि पनि चाडपर्वलाई लक्षित गर्दै एक सय जना सडक पेटीमा बस्ने मानिसहरुलाई न्यानो लुगा वितरण गरेको थियो । त्यस्तै केहिदिन अघि मानव सेवा आश्रममा पनि ७६ जनालाई वृद्धहरुलाई न्यानो कपडा वितरण गरिएको थियो । विभिन्न दाताहरुबाट आएका कपडाहरु छान्दै सरसफाई तथा सेनिटाइज गरेर प्याक गरिसके पश्चात् कपडा वितरण गर्ने गरिएको आलमले जानकारी दिए ।
उनले भने,‘लकडाउन खुलेपछि हामीले खाना खुवाउने अभियानलाई रोकेर न्यानो कपडा वितरण गर्न सुरु गरेका हौँ । आज नै हामीले ३ सय जना सडकपेटीमा बस्ने साथै आर्थिक विपन्नता भएकाहरुलाई कपडा वितरण गर्ने लक्ष्य राखेका छाैँ ।’
साथै सहयोगी मनहरुले घरमा थन्काएका तथा पुनः प्रयोगमा आउने कपडाहरु उपलब्ध गराए आफ्नो समूहले सरसफाइ गरेर वितरण गर्ने उनले बताए । कपडा वितरणको अभियान जाडो मौसमलाई मात्रै केन्द्रिकृत नभएर आगामी दिनमा पनि निरन्तरता दिइने आलमको भनाइ छ ।
यसअघि पनि कोभिड १९ रोकथाम तथा न्यूनिकरणका लागि सरकारले गरेकाे लकडाउनकाे समय काम विहिन भएर बसेका मजदुर तथा सडकपेटीमा बस्नेहरुलाई सो समूहले १२० दिन निरन्तर निःशुल्क दुई छाक खाना खुवाएकाे थियाे ।

फेसबुकबाट तपाईको प्रतिक्रिया