दशैँ मनाउन ३ दिनमा १ लाख ५० हजार जना काठमाण्डौ उपत्यकाबाट बाहिरिए – Nagarikabhiyan : National News

दशैँ मनाउन ३ दिनमा १ लाख ५० हजार जना काठमाण्डौ उपत्यकाबाट बाहिरिए

दशैँ मनाउनका लागि तीन दिनमा एक लाख ५० हजार जना यात्रु काठमाण्डौ उपत्यकाबाट बाहिरिएका छन् । घटस्थापनादेखि नै धेरैजसो विद्यालय, कलेज र सङ्घ–संस्था बन्द भएपछि दशैँ मनाउनका लागि मानिस बाहिरिन थालेका हुन् ।

काठमाण्डौ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवम् प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्रप्रसाद भट्टले पछिल्लो तीन दिनमा एक लाख ५० हजार तीन सय नौ जना उपत्यकाबाट बाहिरिएका जानकारी दिनुभयो । उहाँका अनुसार असोज २७ बिहान ६ बजेसम्म ४७ हजार छ सय ४३, असोज २८ गते बिहान ६ बजेसम्म ५१ हजार दुई सय ७९ र आज बिहान ६ बजेसम्म ५१ हजार तीन सय ८७ जना बाहिरिएका छन् ।

ट्राफिकले अघिल्लो दिन बिहान ६ बजेदेखि भोलिपल्ट ६ बजेसम्मको रेकर्ड राख्दै आएको छ । ट्राफिक प्रहरीले उपत्यकाबाट बाहिरिने मानिसको सहजताका लागि काठमाण्डौ उपत्यकाभित्रका १५ वटा ठाउँमा यात्रु सहायता कक्ष सञ्चालन गरेको छ । चाडपर्वको यातायात सहजताका लागि ट्राफिक प्रहरीले काठमाण्डौ उपत्यकाभित्र एक हजार आठ सय जना जनशक्ति परिचालन गरेको प्रवक्ता भट्टले बताउनुभयो ।