१४ वर्षमै प्रेम विवाह गरेकी भारती २० वर्षमै एक्लो हुनुपर्यो ३ वर्षका दूधे बालक टुहुरा भए
२१ आश्विन २०८०, आईतवार १७:२३
काठमाडौँ :बोल्न पटक्कै मन छैन। अझै भनौँ कमजोर स्वास्थ्यका कारण बोल्ने अवस्था नै छैन। छेउमै रहेका भारती मानन्धरका देवर भेट्न आउनेलाई हात जोडेर आग्रह गरिरहेका छन्, ‘स्वास्थ्य असाध्यै नाजुक छ, थोरै सोधिदिनुहोला।’ माइतीघर मण्डलको एक छेउमा मलिन अनुहारसहित बसिरहेकी भारती कहिले छोरो सम्झिन्छिन्, कहिले श्रीमान्, अनि बरर्र आँसु झार्छिन्।
उति नै बेला उनको अनुहारमा आउँछ, जेलबाट छुटेर अबीरजात्रा गर्दै गाडीको लावालस्करसहित गाउँ पसेका रिगल भनिने योगराज ढकालको तस्बिर। चिच्याउन खोज्छिन्। तर त्यो चिच्चाहट मनमै दब्छ। मलिन स्वरमा भन्छिन्, ‘अब मलाई बाँच्न मन छैन।’ २०७२ सालमा योगराजले उनका श्रीमान् चेतन मानन्धरको दिनदहाडै नेपालगन्ज बजारमा खुँडाले हानेर हत्या गरेका थिए।
भारतबाट आउने बसहरूबाट अवैध हप्ता असुली गर्ने र गुन्डा नाइके भनेर चिनिने रिगलले हप्ता असुलीमा अवरोध गरेको भन्दै नेपालगन्जको सुर्खेतरोडस्थित एक होटलमा चेतन मानन्धरको खुँडा प्रहार गरी हत्या गरेको प्रहरी प्रतिवेदनमा उल्लेख छ। क्रूरतापूर्वक भएको हत्यालाई हत्या सावित गराएर रिगललाई कारावास पठाउन पनि भारतीको परिवारले लामो र कठिन संघर्ष गर्नुपरेको थियो।
अदालतको सिसा फोडेर, भोकभोकै आन्दोलन गरेपछि मात्रै रिगललाई थुनामा पठाउने निर्णय भएको थियो,’ भारतीले आँखाभरि आँसु पार्दै सुनाइन्। पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वमा गत भदौ २८ गते बसेको मन्त्रिपरिषद् बैठकको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले रिगललाई असोज ३ गतेको संविधान दिवसमा आममाफी दिएका थिए।

फेसबुकबाट तपाईको प्रतिक्रिया