कोशी प्रदेश सभाको हिउँदे अधिवेशन आह्वान
१२ आश्विन २०८०, शुक्रबार २१:०३
कोशी प्रदेश सभाको हिउँदे अधिवेशन आह्वान भएको छ । मन्त्रिपरिषद्को सिफारिसमा प्रदेश प्रमुख पर्शुराम खापुङले असोज १७ गते बुधबार दिउँसो १ बजेका लागि बैठक आह्वान गरेका हुन् ।
प्रमखुको कार्यालयका प्रवक्ता नरेन्द्रकुमार श्रेष्ठले नेपालको संविधानको धारा १८३ को उपधारा (१) बमोजिम चौथो अधिवेशन आह्वान भएको जनाएका छन् ।
सर्वोच्च अदालतको परमादेशपछि संविधानको धारा १६८ को उपधारा ३ बमोजिम २२ भदौमा नियुक्त भएका प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले असोज २० गते भित्र विश्वासको मत लिनुपर्ने बाध्यता छ ।
अधिवेशन आह्वान भए पनि विश्वासको मत लिने समय टुङ्गो भएको छैन ।
प्रदेश सरकारका प्रवक्ता लिलाबल्लभ अधिकारीले दलहरुसँगको छलफलपछि विश्वासको मत लिने समय टुङ्गो लगाउने बताए ।
यसअघि भदौ ६ गते तेस्रो अधिवेशन अन्त्य भएको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया