म्याग्दीको महभिर गाउँ पहिरोको जोखिममा
१२ आश्विन २०८०, शुक्रबार १०:३५
म्याग्दी :मालिका गाउँपालिका–४ महभिरको बस्ती पहिरोको जोखिममा परेको छ। बस्तीमाथिको पाखोबाट खसेको पहिरोले दुई वटा घर भत्किनुका साथै खानेपानी र सडक आयोजनामा क्षति पुगेको छ।
वडासदस्य गर्वे गुरुङले काले कामी र तुलबहादुर घर्तीको घर भत्किएको र १३ घर जोखिममा परेको जानकारी दिए। ‘पहाडको फेदीबाट शुरू भएको दुई वटा पहिरो फेदीमा रहेको रितुङखोला सम्म पुगेको छ’, उनले भने, ‘ट्याङ्की, मुहान र पाइपलाइनमा क्षति पुगेकाले २५ घरधुरीले प्रयोग गर्ने खानेपानी आयोजना अवरुद्ध भएको छु’
फूलबारी–महभिर–च्युरीबोट सडक अवरुद्ध भएको छ। पहिरोले गाउँको बिचमा ठूलाठूला खोल्सी बनाएको छ। खोल्सा छेउछाउको जमिन चिरा चिरा भएको छ। दुई सय रोपनी भन्दा बढी खेतीयोग्य जमिनमा पनि पहिरोले क्षति गरेको छ।
गत बुधबार रातिको पहिरोले तुलबहादुरको गोठमा रहेका एक वटा राँगो र एक वटा गोरु मरेका थिए। ‘हामी त्यो दिन घरमा नभएकाले पहिरोबाट बचियो’, तुलबहादुरले भने, ‘११ जनाको परिवार आफन्तकोमा बसेका छौँ।’
काले कामीले पहिरोले पुरिएकोबाहेक अर्को ठाउँमा रहेको घडेरीमा पनि पहिरोको जोखिम भएकाले कहाँ बस्ने भन्ने चिन्ताले सताएको बताए। पूर्णदेवी घर्ती, सहबहादुर घर्ती, सहबहादुर सुनार, लालबहादुर कामी, तिलक कामी, गोरे कामी, पोविसरा सुनार, वीरबहादुर कामी, मुक्तिराम सुनार, कुलप्रसाद घर्ती, भीमप्रसाद सुनार, रहमन घर्ती र कुमारी घर्तीको घर जोखिममा रहेका वडासदस्य गुरुङले जानकारी दिए।

फेसबुकबाट तपाईको प्रतिक्रिया