टर्की पठाइदिन्छु भन्दै करोड भन्दा बढी ठगी गर्ने महिला पक्राउ
९ आश्विन २०८०, मंगलवार १५:५४
वैदेशिक रोजगारीका लागि टर्की पठाइदिन्छु भन्दै करोडौं ठगी गरेको आरोपमा एक महिला पक्राउ परेकी छन् ।
पक्राउ पर्नेमा पोखराको लेखनाथ टोल बस्ने ३२ वर्षीया सुरुची भुजेल रहेको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोका प्रवक्ता नवराज अधिकारीले बताए । वैदेशिक रोजगार विभागले पठाएको पत्रका आधारमा सीआइबीको टोलीले भुजेललाई असोज ६ गते पोखराबाट पक्राउ गरेको हो ।
ब्यूरोका अनुसार भुजेलसहितको संलग्नतामा पोखराका ४२ वर्षीय विनोद श्रेष्ठले सिर्जन कुमार राईसमेत ३० जनालाई टर्की पठाइदिन्छु भन्दै ठगी गरेका थिए ।
भूकम्पपछि पुनर्निर्माणका लागि यूएनले सहयोग गर्ने उद्देश्यले मासिक १४ सय अमेरिकी डलर तलब दिने प्रलोभन देखाइ पीडितबाट १ करोड १५ लाख ९९ हजार ८ सय रुपैयाँ ठगी गरेको पाइएको प्रहरीले जनाएको छ ।
काठमाडौँ जिल्ला अदालतबाट सात दिनको म्याद लिइ ठगीसम्बन्धी कसुरमा अनुसन्धान भइरहेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया