बडिमालिकामा करोडौं खर्च काम शून्य – Nagarikabhiyan : National News

बडिमालिकामा करोडौं खर्च काम शून्य

सुदूरपश्चिमको बडिमालिका क्षेत्रमा पर्यटन र पूर्वाधार विकासका लागि कागजमा रु।३८ करोड खर्च भएको देखिए पनि त्यहाँ सिन्को भाँचिएको छैन। अझ विडम्बना त यत्रो अनियमितताका लागि कोही पनि जवाफदेही हुनु परेको छैन।

जनस्वास्थ्यविद् शशिदेव शाह कामको छेको पारेर घुमघाममा जान रमाउँछन्। “क्यामरा भिरेर फरक भूगोलमा विचरण गर्नु मेरो स्कूले जीवनदेखिकै सोख हो”, हालैको भेटमा उनले सुनाए।

काठमाडौंको सामाखुसीका शाह कामकै सिलसिलामा पहिलो पटक बाजुरा पुग्दै थिए। यही मौकामा बडिमालिकाको पदयात्रा गर्ने चाँजो मिलाए। सदरमुकाम मार्तडीमा काम सकिएपछि गएको असार १३ मा उनी बडिमालिकातर्फ लागे। सिमसिमे झरीको वास्ता नगरी पिठ्यूँमा आवश्यक सामानको झोला झुण्ड्याए। सातु–सामलको पोको र टेन्ट भरियालाई बोकाएर चारदिने पैदल यात्रा तय गर्न उकालो लागे।

यात्राबाट फर्किएपछि दरबारमार्गस्थित एक क्याफेमा गफिंदै गर्दा शशिदेवले सम्झिए– “यस्तै झरी लागेको बिहान बडिमालिकाको पदयात्रा शुरू गरेको थिएँ।” उकालै उकालो आधा दिन हिंडेपछि रमाइलो पाटन देखियो। थरी–थरीका वनस्पति, मृग र डाँफे स्वागतमा उभिए झैं देखिए।

जतिमाथि उक्लियो फरक भूगोलमा उति रमाइलो होला भन्ने ठानेका शशिको यो रोमाञ्च भने धेरै टिकेन। फुलबुट्टे गलैंचा ओछ्याए जस्ता लाग्ने पाटनको छातीमाथि कोपरिएको डोजरका डाम, हिंड्नै सकस हुने गोरेटो र जताततै भूक्षयले उनलाई निराश बनायो।

मार्तडीबाट ४१।५ किलोमिटर बाटो छिचोलेपछि बडिमालिका मन्दिर पुगिन्छ। समुद्री सतहदेखि ४२०० मिटर उचाइमा रहेको बडिमालिका छेवैमा फाटेका जुत्ता, चाउचाउ र गुट्खाका खोल, प्लास्टिक झोला र बोतल जस्ता फोहोरको रास देखेर शाहको मन थप खिन्न भयो। “देवभूमिमा आएँ कि डम्पिङ साइटमा जस्तो लाग्यो” उनले आक्रोश पोखे, “यस्तो पवित्र ठाउँलाई के बनाएको होला, साह्रै रिस पनि उठ्यो।”

बाजुरा र कालीकोट जिल्लाको संगमस्थलमा पर्ने बडिमालिका सुदूरपश्चिमको प्रसिद्ध धार्मिक, सांस्कृतिक र पर्यटकीय धरोहर हो। जनैपूर्णिमाको दिन बडिमालिकाको दर्शन गर्न भारतबाट समेत तीर्थयात्री आउँछन्। पुजारी नेत्रराज पाध्यायका अनुसार मेला भर्न प्रत्येक वर्ष करीब २० हजारको भीड लाग्छ।

श्रद्धालु, पर्यटक र घुमन्तेको भीड लाग्ने यस्तो महत्वपूर्ण ठाउँमा पुग्ने पदमार्ग भने जोखिमपूर्ण छ। हजारौं श्रद्धालु पुग्ने यो तीर्थमा खानेपानी, शौचालय र उपयुक्त आवासको व्यवस्था छैन।

सरकारले घुम्नै पर्ने १०० पर्यटकीय स्थलहरूको सूचीमा समेटेको छ बडिमालिकालाई। तर, यहाँको मोहक तस्वीर र भिडियो देखेर पुग्नेहरू भने शशिदेवको जस्तै गुनासो बोकेर फर्किन्छन्।

यस्तै कष्टसाध्य यात्रा गर्दै हामी पनि बडिमालिका पुगेर यो क्षेत्रको हविगतबारे खोजी गर्ने जमर्को गर्‍यौं। यस क्रममा हामीले सरोकारवाला निकायबाट प्राप्त सूचना र महालेखा परीक्षकका प्रतिवेदनहरू केलाएका छौं। सूचनाको हक प्रयोग गरेर बडिमालिका क्षेत्रको ‘विकास’ का लागि भएको खर्च सम्बन्धी जानकारी पनि लिएका छौं। कागजात केलाउँदा र बडिमालिकाको स्थलगत अध्ययन गर्दा राज्यका विभिन्न निकायले यहाँ गरेको खर्च र भएको ‘विकास’ बीच ठूलै फरक देखिन्छ।

गएको १० वर्षमा यस क्षेत्रको पर्यटन विकास, प्रवद्र्धन तथा आधारभूत सुविधा निर्माणमा विनियोजित बजेट र खर्चबारे संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, नेपाल पर्यटन बोर्ड, पर्यटन विभाग र पुरातत्व विभागबाट हामीले सूचना माग गर्‍यौं। त्यस्तै सुदूरपश्चिम र कर्णाली प्रदेश तथा बडिमालिका क्षेत्रमा पर्ने बाजुराको बडिमालिका र त्रिवेणी नगरपालिका साथै कालीकोटको सान्नीत्रिवेणी र नरहरिनाथ गाउँपालिकाले गरेका खर्चको विवरण पनि केलायौं।

यी सबै निकायले बडिमालिकाको विकासका नाममा एक दशकको अवधिमा ९आव २०६९र७० देखि २०७९र८० सम्म० रु।३८ करोड ४२ लाख खर्च गरेका छन्। यति ठूलो रकम खर्च भइसक्दा पनि बडिमालिका जाने पदमार्ग समेत गतिलो बनेको छैन। त्यस क्षेत्रमा न शौचालय छ न त खानेपानी र आवासको व्यवस्था नै। मन्दिर मर्मतका नाममा पटक पटक बजेट निकासा भए पनि यथार्थमा सिन्को भाँचिएको छैन।