राहत वितरणमा पहुचबालालाई प्राथमिकता , विपन्न गरिबलाई बाईवाई
१० बैशाख २०७७, बुधबार ११:३८
इनरुवा । सुनसरी सदरमुकाम इनरुवाका जनप्रतिनिधिहरुले लकडाउन पीडित ज्यालादारी मजदुरी गरि खानेहरु, सुकुम्बासी, गरिब तथा विपन्न परिवारलाई राहत नदिई हुनेखाने र धनी व्यक्तिहरुलाई मात्र राहत वितरण गरेको गुनासो बाहिर आएको छ ।
इनरुवाको प्रायः सबै वडामा राहत पाउनुपर्नेलाई नदिएको र नपाउनुपर्नेलाई राहत दिएको भन्दै स्थानीयवासीले गुनासो गरेका छन् ।
इनरुवा ४ र ८ नम्बर वडा सहित केही वडामा स्थानीयबाबसी, जनप्रतिनिधि बीचमा विवाद भएको सामाचार हालै बाहिर आएको छ । स्थानीयबासीले धनी तथा हुनेखानेलाई राहत दिन खोजेको र अरुलाई जानकारी समेत नदिएको भन्दै वडामा राहत दिन पुगेका जनप्रतिनिधिबीच विवाद भएको हो ।
इनरुवा ४ मा पार्टीगत र जातीगत रुपमा बाडेको , केही परिवारमा श्रीमानश्रीमती समेतलाई दिएको र वास्तवीक रुपमा छाक टार्न समस्या रहेको परिवारलाई उपेक्षा गरेको भन्दै विरोध भएको छ ।
इनरुवा ८ डुम्राहामा समेत वैशाख १ गते मेहता तथा दलित बस्तिमा राहत वितरणमा पक्षपाती गरेको भन्दै आक्रमणको प्रयास भएको थियो । डुम्राहा गणेशपुरमा जनप्रतिनिधिले राहत वितरणमा अनियमितता गरेको भन्दै तिनीहरुलाई लखेटेका थिए ।
वडा अध्यक्ष रविन्द्र मण्डलले आफ्नो आसेपासे , पार्टी कार्यकर्ता तथा नातागोताका व्यक्ति र स्थानियहरुबिच विभेदपूर्ण तरिकाले जनप्रतिनिधिले राहत वितरण गरेको भन्दै स्थानीयले अवरोध गरेपछि तनाव भएको थियो । तनाव सहित हातपात समेत भएको र जनप्रतिनिधि तथा स्थानीयको बीचमा हात हालाहाल सहति विवाद भएको थियो ।
डुम्राहामा गरिब तथा विपन्न परिवारलाई छाडेर धनी व्यक्ति , घरजग्गा तथा पक्की घर भएका परिवारहरुलाई समेत राहत उपलब्ध गराएको भन्दै राहत लिएर आएको ट्याक्टरलाई समेत स्थानीयहरुले आक्रोशित भएर घेरेको थिए । राहतको लागि भएको विवादमा स्थानियवासीहरुले जनप्रतिनिधिलाई दुरव्यवहार समेत गरेका थिए ।
स्थानीय विजय मेहताले जनप्रतिनिधि तथा जितेको राजनीतिक दलले आफ्ना आसेपासेलाई मात्र राहत वितरण गरेको आरोप लगाउनुभयो । मेहताले विघौविघा जग्गा रहेका व्यक्तिलाई राहत दिएको तर आफुनो छिमेकी मुसहर , सुकुम्बासी र दलितहरुलाई राहतबाट बञ्चित गरेको बिषयमा सोधी खोजी गर्दा वडा अध्यक्ष मण्डल आक्रमणको प्रयास गरेकाले स्थानीयले प्रतिकार गर्दा झडप भएको सुनाउनुभयो । ‘राहत गरीब विपन्न परिवारको लागि हो कि धनी व्यक्तिको लागि ?
यो जनप्रतिनिधिको विभेद हो’ आक्रोशित हुँदै मेहताले भन्नुभयो ।
त्यस्तै स्थानीय रामचन्द्र मेहताले वडा अध्यक्ष मण्डलले अन्याय गरेको र त्यस विषयमा बोल्दा उल्टै प्रहरी लगाएर आफूहरु माथि कुटपिट गरेको सुनाउनुभयो । मेहताका अनुसार जनप्रतिनिधिले आफ्नो पहिचानको तथा धनीव्यक्तिहरुलाई मात्र राहत वितरण गरेपछि आफुहरुले अवरोध गरेको बताउनुभयो ।
राहत वितरणमा विवाद भएपछि नेपाल प्रहरी नै घटना स्थलमा पुगेर तनावलाई साम्य पारेका थिए । वडा अध्यक्ष मण्डलले भने आफूले राम्रो काम गरेपनि विपक्षीहरुले सुनियोजित रुपमा विथोल्ने प्रयास गरेको प्रतिकृया दिनुभयो ।
यता इनरुवा ९ बबियाका वडा अध्यक्ष बसिरमुद्धिन मंसुरीले समेत राहत वितरणमा वडाबासी माथि अन्यायपूर्ण व्यवहार गरेको स्थानीयवासीले गुनासो गरेका छन् ।
एक महिनादेखी लकडाउनका कारणले पीडितहरु, ज्यालादारी मजदुरी गर्नेहरु, सुकुम्बासी, गरिब , दलित तथा विपन्न परिवारको जनजिवन प्रभावित भएको बेला वडा अध्यक्ष मंसुरीले आफूखुसी गरेको गुनासो बाहिर आएको छ । साविक बबिया २ का पीएल मेहताले वडा अध्यक्ष मंसुरीले आफ्नो पार्टीका नेता कार्यकर्ता र जातीकालाई मात्रै राहत दिएकाले सकुम्बासीहरु र विपन्नहरु भोकभोकै बस्न बाध्य भएको गुनासो गर्नुभयो । मेहताले वडाका वास्तविकहरुलाई राहत नदिई हुनेखाने र धनी व्यक्ति तथा पार्टी र आफ्नो जातीहरुलाई मात्र राहत वितरण गरेको गुनासो गर्नुभयो ।
वडाले सुरुमा माक्स र साबुन वितरण गरेको सुनियो तर आफ्नो गाउँका कोही पनि नपाएको सुनाउनुहुदै मेहताले राहतमा ठूलो चलखेल भएको बताउनुभयो । बोल्न नसक्नेहरुलाई जनता समेत नठानी आफ्नो पार्टीका वडा, नगर र जिल्ला तहका नेताहरुलाई राहत वितरण समेत मेहताले दावी गर्नुभयो । मेहताका अनुसार केही विपक्षीहरुलाई समेत आफ्नो विरोधमा नाबोलोस भनेर केही माक्स र साबुन तथा केही पोका राहत दिएको छ ।
वडा अध्यक्ष मंसुरीले राहत वितरण निर्देशिका र मापण्ड विपरित बास्तविक पीडित ज्यालादारी मजदुरहरु, सुकुम्बासी, गरिब तथा विपन्न परिवारलाई राहत नदिई वडाका हुनेखाने र धनी व्यक्तिहरुलाई राहत वितरण गरेको इनरुवा ९ साहु टोलका विनोद साहले गुनासो गर्नुभयो ।
साहले आफ्नो टोलको दुई जना काग्रेंसका नेतालाई माक्स दिएको र उनीहरु आफ्नो परिवारमा बाडेको समेत दावी गर्नुभयो । इनरुवा ९ बबिया ४ का नुनुलाल यादवले समेत यादव टोलमा कोहीकसैलाई माक्स , साबुन र स्यानिटाईजर नदिएको र राहत समेत घरजग्गा भएकाहरुलाई दिएको गुनासो गर्नुभयो ।
शर्मा टोलका दिनेश शर्माले समेत राहतमा पक्षपात, पार्टी र जाती हेरेर मात्रै दिएको दावी गर्नुभयो । एका तिर राहत धनीहरु र पार्टी तथा जातीलाई बाडेको आरोप बाहिर आएको छ भने अर्को तिर राहत पाएकाहरुले कम तौलको राहत पाएको र कुहिएको दाल पाएको प्रतिकृया दिएका छन् । एक जना राहत लिने परिवारले भने सरकारले ल्याएको राहत सबैले लिनुपर्छ भनेर एक विघा जग्गा भएर पनि लिएको प्रतिकृया दिएका छन् ।
इनरुवा नगरपालिकाले कार्यापालिकाको बैठकबाट विपन्न, सुकम्बासी, ज्यालादारी मजदुर तथा गरिब समुदायका प्रति परिवारलाई २० केजि चामल, दुई केजी दाल, दुई लिटर तेल, दुई केजी नुन, दुई देखी तीन थान साबुन दिने निर्णय गरेको थियो । त्यसलाई लत्याउदै प्रतिपरिवार १० देखी १५ केजी मात्रै चामल वितरण गरेको र भरपाई सबै थोक बुझेकोमा गराएको इनरुवा ९ बबियाका मुस्लिम टोलका पीडितहरुले बताएका छन् ।
वडा अध्यक्ष मंसुरीले भने सर्वदलिय समयन्त्रबाट राहत वितरण गरेको र कसैलाई पनि काखापाखा नगरिएको प्रतिकृया दिनुभयो । उहाँले राहत नपाउनेले विरोध गरेको हुन सक्ने टिप्पणी समेत गर्नुभयो । स्थानीयहरुले भने राहत पाउनेहरुको लिस्ट नेकपाका जिल्ला नेताहरुले तयार गरेकाले सोही अनुसार राहत उपलब्ध गराउने वडाले निर्णय गरेपछि वितरण गरिएको दावी गरेका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया