साथीको हत्या गरी फरार रहेका व्यक्ति पक्राऊ
२४ कार्तिक २०७७, सोमबार १८:५४
मकवानपुर । आफ्नै साथीको हत्या गरी फरार भएको आरोपमा प्रहरीले मकवानपुर गढी गाउँपालिका-१ का २८ वर्षीय मानकुमार थिङलाई १५ महिनापछि प्रहरीले पक्राउ गरेको छ ।
ललितपुर बालकुमारी डेरा गरी बस्ने उदयपुर कटारी नगरपालिका-२ गरास घर भएका साथी ३३ वर्षीय हरि खड्काको २०७६ साउन २८ गते हत्या गरी फरार रहेको भन्दै उनलाई सोमबार प्रहरीले पक्राउ गरेको हो ।
जिल्ला प्रहरी मकवानपुरका प्रमुख प्रहरी उपरीक्षक सुशीलसिं राठौरले दिएको जानकारी अनुसार महानगरीय अपराध महाशाखा बानेश्वरबाट खटिएको प्रहरी टोलीले उक्त घटनामा संलग्न थिङलाई मकवानपुर गढी गाउँपालिका-१ ठाँटीटोलबाट पक्राउ गरेको थियो । ललितपुर महानगरपालिका-९ गुहे पोखरीमा खड्काको हत्या गरेको अवस्थामा शव फेला परेको थियो ।
खड्का र थिङबीच करिब ९ वर्ष अगाडिदेखि मूर्ति बनाउने काम गर्ने क्रममा एकआपसमा चिनजान भइ खड्काकी पत्नीसँगसमेत थिङको चिनजान भइ मोबाइलमा म्यासेज आदानप्रदान भएपछि भएको विवादपछि घटना भएको प्रहरीको भनाइ छ ।
म्यासेजको कुरा खड्काले थाहा पाएपछि उनीहरुबीच विवाद भएकोमा २०७६ साउन २५ गते ललितपुर महानगरपालिका-९ गुहेपोखरीमा खड्कालाई बोलाएर थिङ समेतका व्यक्तिहरुले कुटपिट गरी हत्या गरी फरार भएको प्रहरीले जनाएको छ । यसअघि घटनामा संलग्न आरुष थिङ, मृतक खड्काकी पत्नी विष्णु खड्का, दीपक बम्जन, राम बम्जन र सागर वाइवालाई प्रहरीले पक्राउ गरिसकेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया