नेपाल बार काउन्सिलले एक वकिलको प्रमाणपत्र गर्यो खारेज, ७ जनालाई नसियत
२१ कार्तिक २०७७, शुक्रबार १८:४१
काठमाडौं । नेपाल बार काउन्सिलले एक जना कानुन व्यवसायीको प्रमाणपत्र खारेज गरेको छ भने ७ जनालाई नसियत दिएको छ ।
आज (शुक्रबार) बसेको काउन्सिल अनुशासन समितिको बैठकले सरकारी छाप किर्ते गरेको अभियोगमा दोषी ठहर भएका अधिवक्ता गुणराज लोहनी (प्रमाणपत्र नम्बर ६३१७) लाई रद्द गरेको हो ।
लोहनीले सरकार छाप किर्ते गरेको अभियोगमा १० वर्षअघि नै भक्तपुर जिल्ला अदालतबाट दोषी ठहर भएका थिए । हाल उक्त फैसला अन्तिम भइसकेको जानकारी महान्यायाधीवक्ता कार्यालयले काउन्सिललाई गराएपछि अनुशासन समितिले नैतिक पतन देखिने फैजदारी अभियोग पुष्टि भएकाले नेपाल कानुन व्यवसायी आचार संहिता २०५१ को नियम ७ (३) बमोजिम प्रमाणपत्र खारेज गरेको हो ।
त्यस्तै बारले वरिष्ठ अधिवक्ता रामेश्वर सुवेदी, अरविन्दकुमार झा, सञ्जयराज अधिकारी, प्रमोदकुमार सुवेदी, रमेशकुमार रिमाल, बाबुराम शर्मा रेग्मी र सुधा रिजाललाई नसियत दिएको छ । उनीहरुले आचारसंहिता विपरीत कार्य गरेको पुष्टि हुन आएको काउन्सिललले जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया