कक्षा १२ को परीक्षा चुनौतीपूर्ण
२१ कार्तिक २०७७, शुक्रबार ०९:१३
काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को स्थगित परीक्षा मंसिर ९ देखि गर्ने गरी कार्यतालिका सार्वजनिक गरेको छ । परीक्षाको विधि पनि आइसक्यो । होम सेन्टर र उत्तरपुस्तिका परीक्षणबारे पनि स्पष्ट निर्देशन आएको छ । सबै सरोकारवाला निकाय तयारीमा जुटिरहेका छन् । स्नातक तह पठनपाठनको ढोका १२ को परीक्षापछि खुल्छ । अहिले कोरोनाका कारण सबै शौक्षिक गतिविधि प्रायः बन्द छन् । परीक्षा हुन लागेकोमा विद्यार्थी र अभिभावकहरू खुसी देखिन्छन् । तर, कोरोना महामारी बढ्दो क्रममा छ । जाडोमा अझै बढ्ने आकलन गरिएको छ । काठमाडौं कोरोना संक्रमणको हटस्पट बनेको छ । अन्य सहरमा पनि संक्रमण दर उच्च छ । यस्तोमा एउटा सेन्टरमा २०० देखि १५०० परीक्षार्थी एकै समयमा एउटै गेटबाट भित्र पस्दा के होला ? स्वास्थ्य उपचारका मापदण्डहरू कति उपयोगी होलान् ? निरीक्षक र परीक्षार्थीहरू लामो समयपछि सेन्टरमा पस्दा त्रसित हुन सक्छन् भिन्नभिन्न समयमा परीक्षा गर्दा भीडभाड कम हुने थियो । यसले संक्रमणको सम्भावना पनि घटाउँथ्यो । डेढ घण्टाको परीक्षाले विद्यार्थीको सही मूल्यांकन गर्ला भन्ने प्रश्न हामीसामु छ । यही प्रश्नमाझ देखाउनकै लागि भए पनि परीक्षा गर्नुपर्ने बाध्यता छ । परीक्षामा उपस्थित हुने विद्यार्थीलाई कोरोना संक्रमणबाट बचाउने दायित्व सरकार, अभिभावक र शैक्षिक संस्थाको हो । सबै पक्ष होसियार हुनैपर्छ । हिजोको जस्तो तरिकाले आजको परीक्षा सञ्चालन गर्न सम्भव छैन । सम्भव भएसम्म परीक्षामा सामेल हुने विद्यार्थीलाई सार्वजनिक यातायातको प्रयोग गर्नु नपर्ने गरी परीक्षा सेन्टर तोक्नुपर्छ । परीक्षा हलमा सेनिटाइजर प्रयोग गर्नुपर्छ, एकआपसमा दूरी कायम राख्नुपर्छ र मास्क अनिवार्य रूपमा लगाउनुपर्छ । सकेसम्म एउटा कोठामा कम संख्यामा परीक्षार्थी राख्नुपर्छ । सम्भव भए, गार्डको सट्टा परीक्षा हलमा सीसी क्यमराको प्रयोग हुनुपर्छ । कोरोना महामारीका बेला परीक्षा सञ्चालनसम्बन्धी अन्तर्राष्ट्रिय अभ्यासका बारे सबै विद्यालयले जानकारी राखेर त्यसलाई अनुसरण गर्न जरुरी छ । परीक्षा केन्द्रमा महामारीअघिजस्तै गरी गफगाफ र होहल्ला गर्नु हुन्न । समुदायमा कोरोना केही होइन भन्नेहरू बढिरहेका छन् । त्यस्ता व्यक्तिहरूको कुराको पछि लाग्नु हुन्न । परीक्षा सञ्चालनमा चुनौती पक्कै छन्, तर चुनौतीलाई होसियारीपूर्वक अवसरमा बदलेर सम्भावनाका ढोका खोल्नु नै अहिलेको उत्तम विकल्प हो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया