सर्वोच्चले माग्यो स्वास्थ्यमन्त्री ढकालसँग जवाफ, अदालतको अवहेलनामा कारबाही किन नगर्ने ? – Nagarikabhiyan : National News

सर्वोच्चले माग्यो स्वास्थ्यमन्त्री ढकालसँग जवाफ, अदालतको अवहेलनामा कारबाही किन नगर्ने ?

काठमाडौं । अदालतको अवहेलना मुद्दामा स्वास्थ्यमन्त्री भानुभक्त ढकाललाई एक हप्ताभित्र लिखित जवाफ दिन सर्वोच्च अदालतले आदेश दिएको छ ।

सर्वोच्चले स्वास्थ्यमन्त्री ढकाललाई अदालतको अवहेलनाको आरोपमा किन कारबाही नगर्ने भनी लिखित जवाफ माग गरेको हो ।

सबै नागरिकलाई कोरोनाको परीक्षण र संक्रमितलाई निःशुल्क उपचार गर्नु भनी गत असोज १५ गते सर्वोच्च अदालतले आदेश दिएको थियो । त्यो आदेशविरुद्ध सरकारले केही निश्चित वर्गबाहेक अरुको हकमा शुल्क लिने निर्णय गरेको थियो । त्यही निर्णयविरुद्ध अधिवक्ताहरु केशरजंग केसी र लोकेन्द्र ओलीले सर्वोच्चमा अदालतको अवेहलना निवेदन दर्ता गरेका थिए ।

शुरुमा प्रधानमन्त्री केपी शर्मा ओलीसहित स्वास्थ्यमन्त्री ढकालविरुद्ध निवेदन दर्ता भएकोमा पछि भने प्रधानमन्त्री ओलीको नाम हटाइएको थियो । त्यही निवेदनमाथि सुनुवाइ गर्दै न्यायाधीश ईश्वरप्रसाद खतिवडाको इजलासले ‘अदालतको अवहेलनाको आरोपमा किन कारबाही नगर्ने ? नगर्ने भए एक साताभित्र लिखित जवाफ दिनु’ भनी आदेश गरेको हो ।

अदालतको आदेशसँगै अब स्वास्थ्यमन्त्री ढकालले आफू स्वयं वा आफ्नो कानून व्यवसायीमार्फत लिखित जवाफ दिनुपर्नेछ ।