बाँकेमा ३० जना कोरोना संक्रमित सिकिस्त – Nagarikabhiyan : National News

बाँकेमा ३० जना कोरोना संक्रमित सिकिस्त

नेपालगञ्ज । बाँकेका दुई ठूला अस्पतालमा उपचाररत ३० जना कोरोना संक्रमित सिकिस्त रहेका छन् ।

भेरी अस्पताल, नेपालगञ्ज र शिक्षण अस्पताल कोहलपुरमा उपचाररत १०१ जना कोरोना संक्रमितमध्ये ३० जना सिकिस्त रहेको स्वास्थ्य कार्यालय, बाँकेका कोरोना स्रोत व्यक्ति नरेश श्रेष्ठले जानकारी दिए ।

उनका अनुसार, भेरी अस्पतालमा १८ र शिक्षण अस्पताल कोहलपुरमा १२ गरी ३० जना बिरामी सिकिस्त छन् । भेरीमा ३६ र कोहलपुरमा १४ गरी मध्यम खालका ५० जना बिरामी रहेका छन् ।

भेरीमा ९ र कोहलपुरमा १२ गरी अस्पतालमा २१ सामान्य बिरामी उपचाररत छन् । बाँके र बाहिरी जिल्लाबाट उपचारका लागि अस्पतालमा भर्ना भएका संक्रमितको दैनिक जसो मृत्यु हुने गरेको छ । लक्षण देखिएका बिरामीलाई सामान्य, मध्यम र सिकिस्त तीन चरणमा विभाजन गरेर उपचार दिने गरिएको स्रोत व्यक्ति श्रेष्ठको भनाइ छ ।

कोरोना संक्रमित सिकिस्त बिरामी जोखिममा रहने गर्छन् । बाँकेका विभिन्न स्थानीय तहमा १९१ कोरोना संक्रमित छन् । उनीहरु होम आइसोलेसनमा छन् । नेपालगञ्ज उपमहानगरपालिकामा ९३, कोहलपुर नगरपालिकामा ४१, खजुरा गाउँपालिकामा १०, बैजनाथ गाउँपालिकामा १४, जानकी गाउँपालिकामा १७ र राप्ती सोनारी गाउँपालिकामा ६ जना होम आइसोलेसनमा रहेको स्रोत व्यक्ति श्रेष्ठले जानकारी दिए ।

बाँकेमा हालसम्म १३ महिला र २१ पुरुष गरी ३४ जना कोरोना संक्रमितको मृत्यु भएको छ । त्यहाँ कोरोना संक्रमितको संख्या ३ हजार २८७ पुगेको छ भने २ हजार ९७३ जना निको भई घर फर्किएका छन् । रासस