हरिनगर गाउँपालिका वडा नं. ७ को नव निर्मित प्रसाशनिक भवनको उद्धघाटन सम्पन्न
१० चैत्र २०७९, शुक्रबार ०८:३१
हरिनगर । सुनसरीको हरिनगर गाउँपालिका वडा नं. ७ को वडा कार्यालयको नव निर्मित भवनको उद्धघाटन सम्पन्न भएको छ ।
हरिनगर गाउँपालिकाको लागतमा निर्माण सम्पन्न भएको उत्त भवनको बिहीबार प्रमुख अतिथि कोशी प्रदेश सभा सदस्य हाजि ईसराईल मन्सुरी एवं बिशिष्ठ अतिथि हरिनगर गाउँपालिकाका अध्यक्ष गफर अंसारीले संयुक्त रुपमा उद्धघाटन गर्नु भएको हो ।
भवन उद्धघाटन गर्दै प्रदेश सभा सदस्य मन्सुरीले वडाले अब आफ्नै भवनबाट जनताको सेवामा खट्न अझ सहज हुने बताउनुभयो । सो अवसरमा मन्सुरीले यस क्षेत्रको जनताको लागि र यस क्षेत्रको विकासको लागि आफु सदैव तत्पर रहेको समेत जिकिर गर्नु भयो । हरिनगर गाउँपालिका संग सहकार्य गरि बिभिन्न प्रदेशको योजनाहरु समेत यस क्षेत्रमा लागु गर्ने प्रतिबद्धता समेत ब्यक्त गर्नुभएको थियो
भवन उद्धघाटन कार्यक्रममा बोल्दै हरिनगर गाउँपालिकाका अध्यक्ष गफार अंसारीले नयाँ भवन बाट थप छिटो छरितो रुपमा सेवा प्रदान गर्न सजिलो हुने बताउनुभयो। वडा कार्यालयको प्रसासनिक भवन निर्माणको लागि गाउँपालिकाले धेरै कसरतको गरेको उल्लेख गर्दै भवन निर्माणको लागि जग्गा दान गर्नुभएकोमा जग्गा दातालाई धन्यवाद दिनुभयो। अब वडाले आफ्नै भवन बाट सेवा दिदा खेर गई रहेको भाडा वापतको रकम पनि विकास निर्माणको काममा खर्च हुने हुँदा झन विकास निर्माणको कामले तिब्रता लिने कुरामा जोड दिनुभयो।
वडा अध्यक्ष मुज्जमिल खाँनले आफ्नै प्रसासनिक भवन बाट सेवा दिन पाउने कुराले आफु निकै खुसी भएको बताउनु भयो। आफु जितेर आए देखि सदैव वडा बासीको निमित्त सोच्दै आएको बताउदै आगामी दिनमा पनि वडाको विकासको निम्ति आफु लागि रहने, पालिका, प्रदेश र संघिय सरकार संग समन्वय गरि बिभिन्न बिकास निर्माणको काम गर्ने प्रतिबद्धता गर्नु भयो। भवन निर्माणमा सहयोग गर्नु हुने सम्पुर्णलाई धन्यवाद दिदै आगामी दिनमा यस वडाको विकासका लागि सबैलाई हात्तेमालो गरी अगाडि बढ्न समेत आग्रह गर्नुभयो।
भवन उद्धघाटन कार्यक्रममा प्रदेश सभा सदस्य माननीय हाजी इसराईल मन्सुरी, हरिनगर गाउँपालिकाका अध्यक्ष गफार अंसारी, प्रमुख प्रशासकीय अधिकृत तुलाराज थापा मगर, वडा नं. १ को वडा अध्यक्ष प्रविण गुप्ता, वडा नं. ५ का वडाध्यक्ष सिकमलाल यादव लगायत वडा सदस्यहरु, बुद्धिजीवी, समाजसेवी, पत्रकारहरूको उपस्थिति रहेको थियो।

फेसबुकबाट तपाईको प्रतिक्रिया