राष्ट्रपति निर्वाचन : आज राति १२ बजेदेखि मौन अवधि सुरु – Nagarikabhiyan : National News

राष्ट्रपति निर्वाचन : आज राति १२ बजेदेखि मौन अवधि सुरु

काठमाडौं । राष्ट्रपति निर्वाचन अन्तर्गत आज (सोमबार) राति १२ बजेदेखि मौन अवधि सुरु हुँदैछ । निर्वाचन आयोगले एक विज्ञप्ति जारी गर्दै सोमबार मध्यरातदेखि मतदान सम्पन्न नभएसम्म प्रचारप्रसार गर्न नपाइने जनाएको हो ।

‘मतदान हुने दिनको अघिल्लो ४८ घण्टादेखि मतदानको दिन मतदान केन्द्र बन्द नहुञ्जेलसम्म प्रचारप्रसार निषेधको अवधि लागू हुने निर्वाचन आचारसंहिता, २०७९ मा व्यवस्था गरिएको छ’, आयोगका प्रवक्ता शालिग्राम शर्मा पौड्यालद्वारा जारी, विज्ञप्तिमा भनिएको छ, ‘उक्त व्यवस्थाबमोजिम राष्ट्रपतिको निर्वाचनका लागि आज फागुन २२ गते राति १२ बजेदेखि मतदानको दिन फागुन २५ गते मतदान केन्द्र बन्द नभएसम्म प्रचारप्रसार निषेधको अवधि कायम रहने व्यहोरा सम्बन्धित राजनीतिक दल, उम्मेदवार, मतदाता र सम्बद्ध सबैलाई अवगत गराइन्छ।’

आचारसंहिता उल्लंघन गरे निर्वाचन कसुर तथा सजाय ऐन, ७३ को दफा २४ को ५ तथा निर्वाचन आचारसंहिता २०७० को दफा १७ बमोजिम सजाय हुने बताएको छ। राष्ट्रपतिका लागि  कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल उम्मेदवार रहेका छन् भने नेकपा एमालेका तर्फबाट सुवासचन्द्र नेम्वाङ उम्मेदवार छन्।