सप्तरीमा आज थप्प दुई जना कोरोना संक्रमितको मृत्यु
१८ कार्तिक २०७७, मंगलवार १७:११
राजविराज । कोरोना संक्रमणबाट सप्तरीमा थप दुई जना पुरुषको मृत्यु भएको छ ।
जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख दुनियालाल यादवका अनुसार जिल्लाको हनुमाननगर कंकालीनी नगरपालिका ३ ,साविक २ नम्बर जोगिनियाँ वार्ड नम्बर १ बस्ने ५८ वर्षीय पुरुष शिक्षकको अज कोरोना संक्रमणबाट मृत्यु भएको छ ।
मोरङ्गमा जिल्लामा शिक्षण पेशामा कार्यरत उहाँलाई ज्वरो, टाउको दुखेपछि विराटनगर स्थित बिराट शिक्षण अस्पतालमा भर्ना गरिएको थियो ।
सो क्रममा परिक्षण गराउदा कोरोना परीक्षणको रिपोर्ट पोजेटिभ देखिएको थियो । त्यही उपचारको क्रममा मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख यादवले जानकारी दिनुभयो ।
लामो समयदेखि सुगर, ब्लडप्रेसरबाट पीडित उहाँलाई मिर्गौलामा असर भएका कारण अस्पतालमा भर्ना गरिएको जनाइएको छ ।
यस्तै धरान स्थित बी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कार्यरत रेडियोग्राफर सप्तरी निवासी ३० वर्षीय पुरुषको समेत कोरोना संक्रमणबाट मृत्यु भएको छ ।
जिल्लाको महादेवा गाउँपालिका वडा नम्बर ६ निवासी उक्त पुरुषको सोमबार साँझ मृत्यु भएको स्वास्थ्य कार्यालयका प्रमुख यादवले बताउनुभयो ।
बी.पी कोइराला स्वास्थ्य बिज्ञान प्रतिस्ठानमा कार्यरत रहेको उहाँलाई स्वास्थ्यमा समस्या देखिएपछि तत्कालै आकस्मिक कक्षमा भर्नासँगै कोरोना परीक्षण गर्दा रिपोर्ट पोजेटिभ आएको थियो ।
सोही अस्पतालको कोभिड कक्षमा थप उपचारको लागि व्यवस्था गर्दै गर्दा उनको मृत्यु भएको बताइएको छ ।
मृतक दुबै जनाको शवको व्यवस्थापनको तयारी भइरहेको जिल्ला स्वास्थ्य काार्यालयले जनाएको छ ।
यो सँगै सप्तरी जिल्लामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २७ पुगेको जनाइएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया