अण्डा र कुखुरा सडकमा फ्याँकेर झापाका किसान आन्दोलित – Nagarikabhiyan : National News

अण्डा र कुखुरा सडकमा फ्याँकेर झापाका किसान आन्दोलित

विराटनगर । झापामा कुखुरा पालक किसानहरूले प्रदर्शन गरेका छन् । मंगलबार बिर्तामोडको मुक्ति चोकमा अण्डा र कुखुरा फालेर उनीहरूले प्रदर्शन गरेका हुन । आफुहरूले उत्पादन गरेको बस्तुहरूले उचित मुल्य र बजार पाउनुपर्ने माग राख्दै प्रदर्शन गरिएको उनीहरूको भनाइ छ ।

अण्डा र कुखुरा सडकमा फालेर सरकारको ध्यानाकर्षण गराएको किसान भरत चम्लागाईंले बताए । कृषिमा आत्मनिर्भर होउ भनेर सरकारले गरेको आग्रह अनुसार आफूहरूरु कृषि कर्ममा लागेर र उत्पादन पनि गरेको तर सरकारले त्यसको बजारीकरण नगरेकाले बाध्य भएर सडकमा उत्रिनु परेको उनले बताए ।

बढ्दो ब्याज, महँगीका कारणले देशभरका किसानहरू मारमा परेको उनीहरूको भनाई छ । प्रदर्शनमा सहभागी किसानहरूले यो प्रतिनिधिमुलक आन्दोलन भएको र यसमा झापाका सबै किसानको समर्थन रहेको बताएका छन् । केही दिन अघि चितवनका किसानले पनि बजार नपाएको भन्दै तरकारी सडकमा पोखेर आन्दोलन गरेका थिए ।