उर्लाबारीमा स्कोरपिओ र सफारी ठोक्किँदा एक जनाको मृत्यु, ६ जना घाइते
२२ माघ २०७९, आईतवार १७:०६
विराटनगर । पूर्व–पश्चिम लोकमार्गअन्तर्गत मोरङको उर्लाबारीमा शनिबार साँझ भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ । उर्लाबारी नगरपालिका–७ मा स्कोरपिओ र सीटी सफारी ठोक्किँदा सफारी चालकको मृत्यु भएको हो । दुर्घटनामा सफारीमा सवार ६ जना घाइते भएका छन् ।
पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको प्रदेश ३–०१–०२२ च ६८४५ नम्बरको स्कोरपिओ र विपरीत दिशाबाट आउँदै गरेको प्रदेश १–०१–०२ ह ३०७ नम्बरको सफारी एकआपसमा ठोक्किएर दुर्घटना भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा घाइते भएका सफारी चालक मोरङको पथरीशनिश्चरे नगरपालिका–१० का २६ वर्षीय सञ्जु उराउको मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उराउको उपचारका क्रममा झापाको बिर्तामोडस्थित बी एन्ड सी अस्पतालमा आइतबार बिहानको राति २ बजेतिर मृत्यु भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा परी सफारीमा सवार पथरीशनिश्चरे–१० की २१ वर्षीया सानिया राई, पाल्मु तामाङ, २० वर्षीया कृति तामाङ, ओमा राई, १९ वर्षीया विष्णुमाया मगर र १८ वर्षीया रञ्जना राई घाइते भएका छन् ।
प्रहरीले स्कोरपिओ र चालक झापाको दमक नगरपालिका–२ का ४० वर्षीय सन्दीप बस्नेतलाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान सुरु गरेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया