एसियाडलक्षित प्रशिक्षण माघ दोस्रो सातादेखि – Nagarikabhiyan : National News

एसियाडलक्षित प्रशिक्षण माघ दोस्रो सातादेखि

काठमाडौँ । राष्ट्रिय खेलकुद परिषद् ९राखेप० ले चीनको हाङझाउमा हुने १९ औं एसियाली खेलकुदको तयारीलक्षित गरी माघ दोस्रो सातादेखि नियमित प्रशिक्षण सुरु गर्ने भएको छ ।

राखेपका सदस्य–सचिव टंकलाल घिसिङको उपस्थितिमा हाइपर्फमेन्स कमिटीका जेष्ठ सदस्य हरिहर श्रेष्ठको अध्यक्षतामा मंगलबार बसेको बैठकले उक्त निर्णय गरेको हो । नेपालले एसियाली खेलकुदमा सहभागिता जनाउने सम्भावित २३ खेलको नियमित प्रशिक्षण ९० दिनको हुने कमिटीका सचिव हिमालराज दाहालले जनाए । करिब ५ सय १४ खेलाडी र ६६ प्रशिक्षक नियमित प्रशिक्षणमा सहभागी हुने जनाइएको छ । नियमितपछि विशेष, बन्द र वैदेशिक प्रशिक्षण हुनेछ ।

प्रशिक्षण सुरु हुनुअघि माघ २ देखि ४ गते सम्बन्धित खेलका राष्ट्रिय संघ तथा मुख्य प्रशिक्षकलाई छलफलका लागि बोलाइने छ । बैठकमा केही खेलका लागि विदेशी प्रशिक्षक झिकाउने तथा केही खेलका प्रतिभावान खेलाडीलाई वैदेशिक प्रशिक्षणमा पठाउने विषयमा पनि छलफल भएको थियो ।

यसअघि राखेपले एसियाली खेलकुद सुरु हुन १ वर्ष बाँकी छँदै ४५ दिने प्रशिक्षणको सुरु गरिसकेको थियो । त्यतिबेला एसियाली खेलकुद २०२२ को सेप्टेम्बर हुने भनिए पनि कोरोना भाइरसका कारण एसियाली खेलकुद एक वर्ष स्थगित गरिएको थियो ।