प्रधानमन्त्री र स्वास्थ्यमन्त्रीविरुद्ध ‘अदालतको अवहेलना’ निवेदन दर्ता
१६ कार्तिक २०७७, आईतवार १६:५५
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र स्वास्थ्य मन्त्री भानुभक्त ढकालविरुद्ध सर्वोच्च अदालतमा अदालतको अवहेलना निवेदन दर्ता भएको छ ।
अधिवक्ताहरु लोकेन्द्रबहादुर ओली र केशरजंग केसीले प्रधानमन्त्री ओली र स्वास्थ्य मन्त्री ढकालले न्यायालयको फैसलाको अवज्ञा गरेको भन्दै सर्वोच्च अदालतमा ‘अदालतको अवहेलना’को निवेदन दर्ता गराएका हुन् ।
कोरोना संक्रमणको शंकामा परीक्षण र संक्रमण भएमा उपचार निःशुल्क हुनुपर्ने भनी सर्वोच्च अदालतले गरेको फैसला उल्लंघन गरेको आरोपमा आइतबार उनीहरुले सर्वोच्चमा अदालतको अवहेलना निवेदन दर्ता गराएका हुन् ।
गत असोज २७ गते सर्वोच्च अदालतले कोरोना परीक्षणका क्रममा सरकारी स्वास्थ्य निकायमा कुनैपनि शुल्क नलिन सरकारका नाममा निर्देशनात्मक आदेश जारी गरेको थियो । सर्वोच्चले कोरोना संक्रमणसँग जोडिएका सबै सेवा ‘आधारभूत स्वास्थ्य सेवा’को परिभाषाभित्र पर्ने भन्दै तिनलाई पनि निःशुल्क गर्न आदेश दिएको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया