कर्णाली प्रदेशको मन्त्रिमण्डल पुनर्गठन रोकियो
१६ कार्तिक २०७७, आईतवार १४:५७
काठमाडौं । आज हुने भनिएको कर्णाली प्रदेशको मन्त्रिमण्डल पुनर्गठन रोकिएको छ । आइतबार मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले मन्त्रिपरिषद् पुनर्गठनको तयारी गरेका थिए ।
स्रोतका अनुसार नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले केही दिन मन्त्रिपरिषद पुनर्गठन नगर्न भनेपछि मुख्यमन्त्री शाहीको तयारी तत्काललाई रोकिएको हो ।
मन्त्रिमण्डल पुनर्गठनका लागि मुख्यमन्त्री शाहीले प्रधानमन्त्री केपी शर्मा ओली निकट दुई मन्त्रीलाई राजीनामा दिन हिजो साँझ नै आग्रह गरेका थिए ।
तर, प्रधानमन्त्री ओली निकट मन्त्रीहरु दल रावल र नन्दसिंह बुढाले राजीनामा नदिने, बरु हटाए हट्ने अडान लिएपछि मन्त्रिपरिषद् पुनर्गठनको तयारी रोकिएको हो ।
यसैगरी शाहीले नेकपाका वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका तीन जनालाई मन्त्री नियुक्त गर्ने तयारी गरेका थिए ।
नयाँ बन्ने मन्त्रीहरुमा चन्द्रबहादुर शाही, करबिर शाही र अमरबहादुर थापा छन् भने कसलाई कुन मन्त्रालयको जिम्मेवारी दिने भन्ने नखुलेको स्रोतले जनाएको छ ।
नेता नेपाल पक्षका सात सांसद अविश्वासको प्रस्तावबाट पछि हटेपछि मुख्यमन्त्री शाहीले तीन जनालाई मन्त्री र एक जनालाई सचेतक बनाउने सहमति गरेका छन् । यद्यपी सहमतिअनुसार कुर्मराज शाही सचेतक नियुक्त भइसकेका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया