मानव अधिकार समूहद्धारा कोशीको वडालाई ज्ञापन पत्र – Nagarikabhiyan : National News

मानव अधिकार समूहद्धारा कोशीको वडालाई ज्ञापन पत्र

सुनसरीको कोशी गाउँपालिकाका ८ वटै वडामा मानव अधिकार समूहले माग र सुझाव सहितको ज्ञापन पत्र बुझाएको छ । स्थानीय मानव अधिकार समूहले १२ बुँदे माग सहितको ज्ञापन पत्र प्रत्येक वडा कार्यालयमा पुगेर वडा अध्यक्षलाई जेठ १९ गते बुझाएको छ ।
समूहले चेतनामुलक अभियान सहित कोशी गाउँपालिकाको १ देखी ८ नम्बर वडामा जिम्मेवार निकायलाई जवाफदेही बनाउने परियोजना अन्तरगत शिक्षा, स्वास्थ्य, खाध्य र आवाश अधिकारको बारेमा काम गर्दै आएकोमा जेठ १९ गते गाउँपालिकाको १ नम्बर वडा अध्यक्ष सोभित नारायाण यादव, २ नम्बर वडा अध्यक्ष अध्यक्ष ध्यानी उराँव, ३ नम्बर वडा अध्यक्ष सुलेमान मंसुरी, ४ नम्बर वडा अध्यक्ष इसराईल मियाँ, ५ नम्बर वडा अध्यक्ष साह जमाल, ७ नम्बर वडा अध्यक्ष लाल देव सदा र ८ नम्बर वडा अध्यक्ष बलराम कुमार क्षेत्रीलाई ज्ञापन पत्र बुझाएको हो । समूहका अध्यक्ष राजकुमार शर्माले विद्यालय शिक्षामा गुणस्तरीयताका लागि विद्यालयसगैं मदर्सामा समेत विषयगत शिक्षकको व्यवस्था गर्नुपर्ने, विद्यालयमा शिक्षक सरुवा बढुवामा विषयगत र तहगतमा ध्यान दिनुपर्ने, वडामा कृषि, पशु, शिक्षा र स्वास्थ्य संस्थामा अनुगमन गरि जवाफदेहिता र नियमितताका लागि सुझाव दिने काम अनुमगन समितिले गर्नुपर्ने, प्रत्येक वडाका कृषकहरूलाई रासायनिक मल, उन्नत जात बिउविजन समयमा उपलब्ध गराउनुपर्ने, माटो सुहाउँदो बालीका लागि माटो परीक्षण शिविर सञ्चालन गर्नुपर्ने,सुकुम्बासीका लागि लालपुर्जा वितरणको पहल गर्नुपर्ने, आबाश अधिकार सुनिश्चित गर्नुपर्ने, सुकुम्बासी विपन्न, दलित समुदायको आवासको अधिकार अन्तरर्गत गाउँपालिका र वडाले तथ्यांक संकलन गर्नुपर्ने माग सहितको ज्ञापन बुझाएका छन् ।
यसैगरी लक्षित वर्गका योजना तथा कार्यक्रमहरु लक्षित समुदायको र समूहको सहभागितामा संचालनमा ल्याउनुपर्ने माग गरेको समूहका सचिव विष्णुकुमार यादवले जानकारी गराउनुभयो । कोशी गाउँपालिका १, २, ३, ४ र ५ सहित श्रीपुर क्षेत्रमा खेत सिंचाई गर्नका लागि हरिपुर शाखा नहरको मर्मत सम्भारका लागि पहल गर्नुपर्ने र सामुदायिक विद्यालयसगैं मदर्शाका छात्राका लागि समेत स्यानेटरी प्याडको व्यवस्था गर्नुपर्ने माग गर्दै ज्ञापन पत्र बुझाएको समूहका सदस्य रिना मण्डलले बताउनुभयो ।
ज्ञापन पत्र बुझाउने कार्यक्रममा समूहका उपाध्यक्ष श्यामकुमार खंग, सचिव विष्णुकुमार यादव, सहसचिव रिनाकुमारी मण्डल, कोषाध्यक्ष चन्द्रकला नेपाल, सदस्यहरु गिता पौडेल, ओरेककी कबिता मण्डल, जानकी शिवाकोटी, अधिकारकर्मी मोती मेहता, कार्यापालिका सदस्य शोभा मेहता र इन्सेक प्रतिनिधि जयकृष्ण यादव लगायतको उपस्थिती रहेको थियो ।
ज्ञापन पत्र बुझाउने अभियानमा कोशी गापाको लौकही, हरीपुर, भण्टाबारी र कोशी व्यारेज बजार क्षेत्रमा खाद्य वस्तु विक्रि अव्यवस्थित भएको र मिसावटयुक्त विक्रि गरेको गुनासो आएकाले त्यसमा पनि नियमित अनुगमन गर्नुपर्ने वडाहरुलाई सुझाव दिदै उपाध्यक्ष अनिता यादवलाई निबासमै भेटेर जानकारी गराएका छन् ।
गाउँपालिकाका अध्यक्ष ऐयुव अंसारी समेत मानव अधिकार समूहको कार्य र अभियान सार्थक रहेको प्रतिकृया दिनुभयो । सबै वडा अध्यक्षहरुले आफूहरुले भ्याएसम्मका काम मानवअधिकारमैत्री तरिकाले गर्ने र बजेटमा शिक्षा, स्वास्थ्य, खाध्य र आवाश अधिकारको सबाल समेत समावेश गर्ने प्रतिवद्धता जनाएका छन् ।